केरुङ र तातोपानी नाकामा व्यवसायीलाई अस्थायी पासको व्यवस्था गर्न माग


२३ माघ २०८०, मंगलवार १८:३६ मा प्रकाशित

नेपाल राष्ट्रिय व्यवसायी महासंघले केरुङ र तातोपानी नाकामा व्यवसायीहरुलाई अस्थायी पासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

मंगलवार महासंघले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै नेपालको चीनसँग जोडिएको दुई केरुङ र तातोपानी नाकामा व्यवसायीहरुलाई अस्थायी पासको व्यवस्था गर्ने सरकारसँग माग गरेको हो ।

महासंघले व्यवसायीहरुलाई सहज रुपमा व्यापार व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको हो ।

महासंघका अध्यक्ष कुमार कार्कीले चीनसँग जोडिएको दुई केरुङ र तातोपानी नाकाबाट एउटा जिल्लाका व्यवसायीहरु मात्रै जान पाउने सिण्डिकेट हटाएर सबै व्यवसायीहरुलाई अस्थायी पासको व्यवस्था मिलाउन गृहमन्त्रीसँग माग गरिएको बताउनु भयो ।

नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले चीनसँग जोडिएको दुई केरुङ र तातोपानी नाकामा रसुवा र सिन्धुपाल्चोक जिल्लाका व्यवसायीहरुले मात्रै नाकापारी जान पाउने व्यवस्था रहेको भन्दै त्यसलाई अन्य व्यवसायीहरुलाई पनि अस्थायी पासको व्यवस्था गरी आवतजावत गर्न माग गरिएको बताउनु भयो ।

उहाँले चीनबाट आयात गरिएको सामान व्यवसायीहरुले हेर्न र लिन जान नपाएको बताउनु भयो । उहाँले २०१६ सालमा चीनसँग भएको पारवहन सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने बताउनु भयो ।व्यवसायीहरुले चीन नाकामा रहेका भन्सार तिर्न समेत झन्झट व्यहोर्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारसँग माग गरेका छन् ।

उनीहरुले भन्सारमा सहज बनाउन र नाकामा सामान सहज रुपमा नेपालमा ल्याउने व्यवस्था गर्न बारम्बार ध्यानाकर्षण गर्दा समेत नभएको बताएका छन् । उनीहरुले रसुवा नाकामा सुख्खा बन्दरगाह तत्काल सञ्चालनमा ल्याउन समेत माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here