जो कोहीले पनि एसिड प्राप्त गर्ने कुरालाई रोक्नुपर्छः अध्यक्ष ओली


१४ माघ २०८०, आईतवार १६:४९ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जो कोहीले पनि एसिड प्राप्त गर्ने कुरालाई रोक्न आवश्यक रहेको बताउनुभएको छ ।

एसिड (तेजाब) आक्रमणबाट पीडित किशोरी र महिलाहरूका पीडा र जीवन कथालाई समेटर निर्माण हुने चलचित्र नमेटिने घाउको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एसिड परिभाषित रुपमा मात्रै प्राप्त गर्नसक्ने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले प्रशासनिक सजगता बिना एसिडको उपलब्धता हुनु नहुने भन्दै के प्रयोजन, कुन मात्रामा किनेको हो ? कति मात्रा प्रयोग भयो, त्यसको बाँकी अंश छ भने त्यो फिर्ता गर्नेसम्मका प्रवन्ध कडाइ र व्यवस्थित गरेर मात्रै एसिड बिक्री वितरण गर्ने प्रावधान लागू गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले यसबारेमा आफूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर ध्यानाकर्षण गराउने पनि बताउनु भयो । उहाँले घटना हुन नदिनका लागि सरकारले समयमा नै आवश्यक कदम चाल्नुपर्ने बताउनु भयो ।

अध्यक्ष ओलीले एसिड आक्रमणकारीलाई मृत्युदण्ड नै दिनुपर्छ भन्ने पक्षमा भने आफू नरहेको बरु अरु कुनैपनि सजाय दिन सकिने स्पष्ट पार्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here