बेल्स स्कुलमा भएको विस्फोटपछि बिर्तामोड नगरपालिकाले सबै विद्यालयलाई सचेत गरायो


४ माघ २०८०, बिहीबार ०८:२८ मा प्रकाशित

झापा । बिर्तामोड नगरपालिकाले आकर्षक बनाउने नाममा विभिन्न प्रकारका विदेशी रसायन, विष्फोटक पदार्थ र जोखिमयुक्त सामग्रीहरुको प्रयोग नगर्न नगरभित्रका विद्यालयहरुलाई सचेत गराएको छ ।

बिर्तामोड नगरपालिका वडा नम्बर ७ गरामनीस्थित बेल्स मोडल स्कुलमा बेलुन फुलाउने क्रममा हाइड्रोजन ग्यासको सिलिन्डर विस्फोट हुँदा एक जना गम्भीर घाइते भएपछि नगरपालिकाले नगरभित्रका सबै विद्यालयहरुलाई पत्र पठाउँदै सचेत गराएको हो ।

बेल्स मोडल स्कुलले आयोजना गरेको स्पोर्टस् मीट कार्यक्रमको सजावटका लागि हाइड्रोजनको ग्यास सिलिन्डरबाट बेलुन फुलाउने क्रममा विस्फोट हुँदा अन्दाजी ५५ वर्षका भारतीय नागरिक गणेश सहनी घाइते भएका थिए । उनको चिन्ताजनक अबस्थामा भारतको सिलिगुडीमा उपचार भइरहेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले विद्यालयहरुमा सञ्चालन हुने विभिन्न प्रदर्शनी, वार्षिक कार्यक्रमहरु, उत्सव तथा स्थापना दिवस लगायत अन्य विविध कार्यक्रमलाई आकर्षक बनाउने नाममा विभिन्न प्रकारका विदेशी रसायन, विष्फोटक पदार्थहरु तथा जोखिमयुक्त सामग्रीहरुको प्रयोग नगर्न सचेत गराएका हुन् ।

त्यस प्रकारका सामग्रीहरुको प्रयोगबाट बालबालिकाहरुमा त्रास फैलिनका साथै शारीरिक तथा मानसिक जोखिम उत्पन्न हुने भएकोले त्यस्ता प्रकारका सामग्रीको प्रयोग नगरी जोखिमरहित, बालबालिकाबाट निर्मित तथा स्वदेशी सामग्रीको प्रयोग गर्न गराउन नगरपालिकाले अनुरोध गरेको छ ।

यस्ता प्रकारका विष्फोटक पदार्थ, रसायन र जोखिमयुक्त सामग्रीहरु अनुमति नलिई मानवीय तथा भौतिक क्षति भएमा सम्बन्धित विद्यालय परिवार स्वयं जवाफदेही हुने चेतावनी समेत दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here