सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले भारतसँग भएका पछिल्ला सम्झौताप्रति असन्तुष्टि जनाउँदै सरकारसँग सबै सम्झौताका दस्ताबेजहरु माग्ने भएको छ ।
सोमवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टी सचिवालय बैठकले सो निर्णय गरेको हो ।
बैठकले भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदा नेपाल—भारतको बीचमा भएका सम्झौताहरु सार्वजनिक गर्न माग गर्ने निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताउनु भयो ।
उहाँले विभिन्न देशसँग भएका नेपालको प्राकृतिक श्रोत, साधन, उर्जा, जलश्रोत लगायतका सम्झौताहरु माग गरी पार्टीले अध्ययन गर्ने निर्णय गरेको बताउनु भयो ।
उहाँले भारतसँग सरकारले गरेका पछिल्ला सम्झौताहरु संवेदनशील रहेको बताउनु भयो ।
बैठकले पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीहरुको कामको प्रगति विवरण पार्टीमा बुझाउन निर्देशन दिएको छ ।
पार्टीले राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धनबाट उम्मेदवार बनेकाहरुलाई जिताउन पार्टी पंक्तिलाई आग्रह गरेको छ ।