झापा एमालेमा स्वमूल्याङ्कन सम्बन्धी अन्तरक्रिया प्रारम्भ


२५ पुष २०८०, बुधबार ०८:२२ मा प्रकाशित

झापा । नेकपा एमाले झापाले पार्टी कामको लागि जिम्मेवारी लिएका नेता कार्यकर्ताहरुबाट पछिल्लो कार्यकालमा पदीय जिम्मेवारीमा रहेर हालसम्म आफूले के के काम सम्पादन गरियो भन्ने सन्दर्भमा स्वमूल्याङ्कन कार्य सुरु गरेको छ ।

दुई दिन पहिले पुस २२ गते झापा निर्वाचन क्षेत्र नं. ३ मा जिल्ला कमिटी सदस्यहरुमाझ उक्त अभियानको प्रारम्भ गरिएको थियो । मंगलबार क्षेत्र नं. २ अन्तरगत बसोबास रहेका जिल्ला कमिटी सदस्यहरुको बैठकमाझ स्वमूल्याङ्कन सम्बन्धी अन्तरक्रिया गरिएको हो ।

ढुङ्गेलले पार्टी जिल्ला कमिटीले निर्धारण गरेको कार्ययोजनामा आधारित रहेर संगठन विभागले १७ वटा प्रश्न तयार गरी पार्टीका जिल्ला नेता र मातहत कमिटीमा रहेर काम गरिरहेका जिम्मेवार कार्यकर्ताहरुको मूल्याङ्कनको सुरुवात गरेको बैठकमा जानकारी दिए ।

विभागले जिल्ला कमिटी सदस्यहरु, नगर कमिटीका पदाधिकारी एवम् सदस्यहरु र वडा कमिटीका पदाधिकारी एवम् सदस्यहरु तथा २३ वटै जनवर्गीय संगठनमाझ प्रश्नहरु पठाएर स्वमूल्याङ्कन गरिने विभागीय प्रमुख तथा पार्टी जिल्ला सचिव ढुङ्गेलले जानकारी दिए ।

निर्वाचन क्षेत्र नं. २ का क्षेत्रीय संयोजक बद्री भट्टराईको अध्यक्षमा सम्पन्न बैठकमा झापा जिल्ला कमिटीका अध्यक्ष दिपक कार्की र उपाध्यक्ष प्रेम गिरीले विशेष मन्तब्य राख्दै स्वमूल्याङ्कन अभियान पार्टी जीवनका लागि अत्यन्तै रचनात्मक भएको जनाए ।

स्वमूलाङ्कनको कार्यले जिम्मेवार नेता कार्यकर्ताहरुको समाज रुपान्तरणमा कस्तो योगदान रहेछ भन्नेसमेत मूल्याङ्कन गर्न सहयोग गर्ने नेताहरुको भनाई थियो । कम्युनिष्ट चरित्र कस्तो हुनुपर्छ र हामी कता गइरहेका छौं भन्ने कुरा बुझाउन नेता कार्यकर्तालाई स्वमूल्याङ्कनले सहयोग पुर्याउने जनाइएको छ ।

सचिव ढुङगेलले स्वमूल्याङ्कन कार्य पार्टी जीवनका लागि एउटा परीक्षा पनि भएको जनाउँदै २२ गतेको बैठकले यसलाई परीक्षा भनी प्रचार भएकोमा सो कुरा संशोधन गर्न सुझाव दिए । आगामी माघ १५ सम्म संगठन विभागले मूल्याङ्कनका लागि तोकिएको सदस्य र कमिटीहरुबाट प्रतिवेदन संकलन सम्पन्न गर्ने जनाएको छ ।

उक्त प्रतिवेदन संकलन पछि पार्टी काम र नीति निर्माणका लागि सहयोगी सामग्री बनाइने संगठन विभागको तयारी छ । जिल्ला पार्टीले सदस्यहरुबाट संकलित र कमिटीहरुबाट संकलित प्रतिवेदनहरुको व्यवस्थित अभिलेख तयार गर्नेछ ।

संगठन विभागका प्रमुख ढुङ्गेल भन्छन्– यो सामग्रीलाई जिल्ला पार्टीको वेबसाइट झापाली आवाजमा समेत अध्ययन गर्न मिल्ने गरी प्रस्तुत गरिनेछ ।

सो अन्तरक्रियात्मक बैठकमा जिल्ला कमिटीका सदस्यहरु देवराज कार्की, मनोरथ तिवारी, गोपाल काफ्ले, डम्बरबहादुर बस्नेत, दिपेन्द्र लम्साल, भक्तिप्रसाद तिवारी, रोहितमान ढकाल, भोला धिताल लगायतले आफ्ना धारणा एवम् सुझावहरु प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here