मलेसिया गएका अर्जुनधाराका युवक १६ वर्षदेखि वेपत्ता, परिवारमा चिन्ता


२२ पुष २०८०, आईतवार ०८:४० मा प्रकाशित

अर्जुनधारा । घरको नाजुक अवस्थाका कारण २० वर्षअघि कमाउन मलेसिया गएका अर्जुनधारा नगरपालिका-११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहिन भएपछि परिवारमा चिन्ता बढेको छ ।

मेचीनगर नगरपालिका-१३ नम्बर वडासँग सिमाना जोडिएको अर्जुनधारा-११, प्रगतिटोल स्थित देउनीयाँ वस्तीका विनोद विश्वकर्मा २०६० सालमा २२ वर्षको उमेरमा घरको आर्थिक अवस्था कमजोर भएका कारण कमाउन मलेसिया हानिएका थिए ।

उनकी ६६ वर्षीया आमा सुकमाया विश्वकर्माले भनिन् -‘२२ वर्षको हुँदा मलेशिया गएको थियो । गएको ४ वर्षसम्म सम्पर्कमा नै थियो । त्यहाँदेखि छोरो सम्पर्कमा छैन । मलेशिया गएको २० वर्ष भइसक्यो । छोरो अहिले ४२ वर्षको भयो । कहाँ छ, के गर्दै छ । अहिलेसम्म केहि थाहा पत्तो लागेको छैन ।’

सुकमायाका ३ छोरा र २ छोरी छन् । विनोद घरको जेठा छोरा हुन् । माइला भिम घरमा आमा-बुबासँगै छन् भने कान्छा छोरा टेकबहादुर कमाउन विदेश जाने तयारीमा काठमाडौँमा भौतारिरहेका छन् । दुईजना छोरीहरु रुमा र लीलाको विहे भइसकेको छ ।

उनका ७१ वर्षीय श्रीमान विरबहादुर घरैमा छन् । उनी धामीको रुपमा झारफुक गर्छन् । विरबहादुरका अनुसार गएको ४ वर्षपछि म विरामी भएको बेला छोरासँग अन्तिम पटक कुराकानी भएदेखि अहिलेसम्म सम्पर्कमा आएको छैन ।

घरको अवस्था देखेर कमाउन गएको छोरो अहिलेसम्म फर्केर नआएपछि हामी चिन्तामा रहेको विरबहादुरले सुनाए । विरबहादुर भक्कानिदैँ भन्छन्-‘विभिन्न सपना बोकेर कमाउन विदेश गएको छोरोले न पैसा पठायो, न मान्छे नै आइपुग्यो । पैसा नपठाए पनि छोरो सकुशल घर आइदिए हुन्थ्यो ।’

सुकमायाले त्यतिखेर ९० हजार ऋण खोजेर छोरालाई आफ्नै भाइ नरबहादुरमार्फत स्थानीय विकास सुब्बा (डोले) ले काठमाडौँको एक मेनपावरबाट मलेसिया पठाएको बताइन् ।

छोराले ९० हजार ऋण तिरेर श्रीमान विरामी हुँदा थप २० हजारसहित एकलाख रुपैयाँ पनि पठाएको सुकमायाको भनाइ छ । तर, त्यसपछि पैसा पनि पठाएन, छोरो पनि सम्पर्कमा नआएको उनले बताइन् ।

उनले छोरा जहाँ, जस्तो अवस्थामा भएपनि खोजी गरिदिन सबैलाई आग्रह गरेकी छिन् ।

८/९ वर्षअघि स्थानीय हरिचन्द्र राउत मलेशिया गएका थिए । राउतलाई त्यसबेला विनोदले मलेशियाको पेनाङ स्थित बल्क्षी फेक्ट्रीमा काम गरिरहेको बताएका थिए । हरिचन्द्र र विनोदको रुम नजिक रहेको थियो । उनीहरुले रासन खाने ठाउँ एउटै थियो । विनोदसँग त्यहिँ भेट भएको हरिचन्द्रले बताएका थिए ।

हरिचन्द्रका अनुसार विनोदसँग भेट हुँदा घरजान मन थियो भनेका थिए । तर, एकवर्ष म्याद थपेकोले जान नपाइने भयो भनेर कुरा गरेको हरिचन्द्रले बताएका थिए । हरिचन्द्र घर आए तर, विनोद अहिलेसम्म घर आएका छैनन् ।

विनोदका परिवारले ५ वर्षअघि डोलेसँग कुन मेनपावरबाट छोरालाई पठाएको हो खोजी गरिदिन आग्रह गरे । डोलेले कुन मेनपावरबाट हो मैले पनि विर्सिसके भन्ने जवाफ दिएको सुकमायाको गुनासो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here