बाढी पहिरोमा परी झापामा ३ सहित ३१ जनाको मृत्यु, १८ जना बेपत्ता


२८ असार २०७६, शनिबार १७:४० मा प्रकाशित

झापा । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी शनिवार साँझ सम्ममा झापाका ३ सहित ३१ जनाको मृत्यु भएको छ ।

बाढी पहिरोमा परी १८ जना बेपत्ता भएका छन् भने १२ जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ । बाढी पहिरोमा परी झापामा शुक्रबार २ जना र शनिवार एक जना गरी जम्मा ३ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शुक्रबार कमल खोलामा आएको बाढीले बगाउँदा इलाम चुलाचुली–१ बस्ने ५१ वर्षीय अंचल लावती र दमक नगरपालिका १० स्थित भालु खोलाको कल्भर्टमा खेल्ने क्रममा ६ वर्षीया बालिकाको मृत्यु भएको थियो । यसैगरी शनिबार शिवसताक्षी नगरपालिका ५ स्थित बनीयानी खोलामा आएको बाढीले बगाउँदा स्थानिय ९ वर्षिय सौगात चापागाईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी ललितपुरमा ६, काठमाडौं, खोटाङ, काभ्रेमा ३/३ जना, भोजपुर, मकवानपुर, धादिङ र सिन्धुलीमा २/२ जना तथा ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, सुनसरी, बारा र चितवनमा १/१ जना गरी ३१ जनाको ज्यान गएको हो । बाढी पहिरोमा परी सिन्धुलीमा ४ जना, भोजपुरमा ३ जना तथा काठमाडौं, ललितपुर, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, पर्सा, महोत्तरी, रौतहट, धादिङमा १,१ जना गरी १८ जना वेपत्ता भएका छन् ।

त्यसैगरी बाढी पहिरोमा परी मकवानपुरमा ४ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवनमा १/१ जना गरी १२ जना घाइते भएका छन् । बाढी पहिरोमा परेका काठमाडौंमा १०८ जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिन्धुलीमा २ जना, सिराहमा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा १/१ जना गरी १३३ जनाको सकुशल उद्दार भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here