बाढीले मेची पुल जोडने भारततर्फको सडक बगाउँदा आवतजावतमा समस्या


२८ असार २०७६, शनिबार १७:२२ मा प्रकाशित

झापा । झापाको भद्रपुरस्थित मेची पुल जोड्ने भारततर्फ बनाइएको अस्थायी ग्राभेल सडक बगाउँदा आवतजावतमा फेरि समस्या उत्पन्न भएको छ ।

अविरल वर्षासँगै मेची नदीमा आएको बाढीले शुक्रबार बिहान पुल जोड्ने ग्राभेल सडक बगाउँदा आवतजावतमा समस्या उत्पन्न भएको हो । बाढीले भारततर्फको सडक कल्भर्ट बगाउँदा दुई दिनदेखि दुई पांग्रे र चार पांग्रे सवारीसाधन अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा भारतबाट नेपाल आउने र नेपालबाट भारत जाने सवारीसाधन फेरि काँकडभिट्टा नाका जान थालेका छन् । मेचीमा आएको बाढीले १ सय १ नम्बर सीमा पिलरसँगै एसएसबीले दशगजा नजिकै राखिएको अस्थायी पोस्ट समेत डुबाएको छ ।

बाढीको पानी सडकमाथिबाटै बग्न थालेको छ । सडकमा पानी जमेपछि शुक्रबार र शनिबार दिनभर आवतजावतमा समस्या भयो । मेची पुल जोड्ने भारततर्फको कालोपत्रे सडक नबन्दा स्थानीयको सुविधाका लागि किशनगञ्ज जिल्ला भादगाउँ ग्राम पञ्चायतले करिब ७ लाख आन्तरिक बजेट निकासा गरी मेची पुल जोडन एउटा कल्भर्ट निर्माण गरी बालुवा र माटोसहितको सय मिटर ग्राभेल सडक बनाएको थियो ।

भारतले अस्थायी सडक बनाएपछि त्यो सडकलाई जोडन भद्रपुर नगरपालिकाले समेत ह्युम पाइप राखेर सय मिटर सडक निर्माण गरिदिएका थिए । दुवै देशका स्थानीय निकायले वर्षालाई मध्यनजर गरी ग्राभेल सडक बनाएका हुन् । तर, शुक्रबार मेची नदीमा आएको बाढीले भारतले बनाएको कल्भर्ट बगाउँदा समस्या उत्पन्न भयो ।

पुलको पारी पट्टी नदीको पानीले कल्भर्ट सडक बगाउँदा आवजजावतमा समस्या आएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले बताए । उनका अनुसार मोटरसाइकल र हलुका सवारीसाधन अवरुद्ध भएको छ । अहिले सर्वसाधरण जनता, साईकल र ठेला भेनमा सामान ओसारपोसार भइरहेको छ । शुक्रबार भन्दा शनिबार मेचीमा पानी घटने क्रममा रहेको बताउँदै उनले पानी बढेपछि फेरि समस्या आउने बताए ।

५६० मिटर लम्बाई र ९.८ मिटर चौडाइको १७ पिलरसहितको मेची पुल ३५ करोड ९५ लाख रुपैयाँको लागतमा ९ वर्षमा बनेको मेची पुलको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ साल माघ १७ गते गरेका थिए । सडक निकास विनाको पुलको उद्घाटन भए पनि हलुका चार चक्के सवारी, मोटरसाइकल, साइकल र पैदलयात्रीले मात्र पुलबाट आवतजावत गरिरहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here