काठमाडौं । वरिष्ठ पत्रकार गोकुलप्रसाद पोखरेलको निधन भएको छ। ८७ वर्षको उमेरमा सोमबार काठमाडौंमा उनको निधन भएको हो। उनी दमबाट पीडित थिए।
धनकुटाको कचिँडेमा जन्मिएका पोखरेलले पत्रकारिता क्षेत्रमा ४० वर्ष बिताएका थिए। २०३७ वैशाखदेखि २०४० सालसम्म गोरखापत्र दैनिकको कामु सम्पादक रहेका थिए। गोरखापत्रकै सहप्रकाशन मधुपर्क मासिकमा कामु सम्पादक रहेका उनले २०३८ सालमा सम्पादकको जिम्मेवारी वहन गरे। उनी गोरखापत्रकै सहप्रकाशन बालपत्रिका मुनाको संस्थापक प्रधान सम्पादक हुन्।
रष्ट्रिय समाचार समितिका सम्पादकसमेत रहेका पोखरेल नेपाल प्रेस इन्स्टिच्युटका संस्थापक सदस्य सचिव र अध्यक्ष रहे। उनी राष्ट्रिय मानव अधिकार आयोगका सदस्य पनि भएका थिए। उनी नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठानका सदस्यसमेत भए।
विदेशमा रहेका छोरा आएसँगै मंगलबार उनको अन्त्येष्टि गरिने परिवारले जानकारी दिएको छ। उनका श्रीमती, दुई छोरी र एक छोरा छन्।