कर्मचारीहरुलाई ‘ग्राउण्ड ह्याण्डलिङ’ को कुरा नउठाउन मन्त्री किराँतीको निर्देशन


१५ पुष २०८०, आईतवार १७:३३ मा प्रकाशित

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङको विषयमा कुनैपनि कुरा नउठाउन कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

आईतवार नेपाल नागरिक उड्डयन प्राधिकरणको २५ औँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै मन्त्री किराँतीले ग्राउण्ड ह्याण्डलिङको विषयमा कर्मचारीहरुले अनावश्यक चासो राखेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

उहाँले नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङको विषय सरकारको निर्णयको कुरा भएको भन्दै कर्मचारीहरुले अनावश्यक कोकोहोला गर्नु आवश्यक नभएको बताउनु भयो ।

उहाँले ग्राउण्ड ह्याण्डलिङको कुरा प्रधानमन्त्री र देशका ठूला राजनीतिक दलहरुको सरोकारको विषय भएको भन्दै कर्मचारीलाई यस विषयमा नबोल्न निर्देशन दिनुभएको हो । उहाँले देशलाई वायुसेवा निमग चाहिने र त्यसलाई बचाउनका लागि ग्राउण्ड ह्याण्डलिङ पनि चाहिने स्पष्ट पार्नुभयो ।

कर्मचारीले यस विषय उठाएमा नीति र नेतृत्वमाथिको हस्तक्षेप हुने उल्लेख गर्दै मन्त्री किराँतीले कुरा उठाएमा राम्रो नहुने चेतावनी समेत दिनुभयो ।

मन्त्री किराती कर्मचारी ट्रेड युनियनका नेताहरुमाथि समेत खनिनु भयो ।

उहाँले कर्मचारीहरुले धेरै नीतिगत कुरा गरेको भन्दै भाषण गर्ने कर्मचारी नै प्रधानमन्त्री हो कि जस्तो लागेको भनेर व्यंग्य गर्नुभयो । उहाँले नीतिको चिन्ता प्रधानमन्त्री, मन्त्रीहरुले गर्ने भन्दै नेतृत्वले बनाएको नीतिमा कर्मचारीहरु हिँड्नुपर्ने बताउनु भयो ।

उहाँले कर्मचारीहरुलाई आफ्नो परिधिभित्र बस्न र नीतिमाथि हस्तक्षेप नगर्न दिर्नेशन समेत दिनुभयो ।मन्त्री किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरणको तीनवटा तत्कालिन कार्याभार रहेको बताउनु भयो ।

उहाँले यात्रुहरुको सुरक्षा गर्नु पहिलो कार्यभार रहेको उल्लेख गर्दै ईयुले पठाएको कालोसूचीबाट हटाउन सुधार गर्नुपर्ने १२ बुँदा अक्षरशः पालना गर्नुपर्ने दोस्रो कार्यभार रहेको बताउनु भयो ।

त्यस्तै यात्रुमैत्री वातावरण बनाउनु तेस्रो कार्यभार रहेको उहाँको भनाई छ । उहाँले न्युनतम स्रोत, साधनको उच्चतम प्रयोग गरेर विमानस्थललाई राम्रो बनाउनुपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here