राजनीतिक स्वार्थ पूरा गर्न निजी सिमेन्ट उद्योग सञ्चालकहरु हेटौँडा सिमेन्ट उद्योग बन्द गराउन लागेः बर्तौला


३ पुष २०८०, मंगलवार १८:१५ मा प्रकाशित

नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले राजनीतिक स्वार्थ पूरा गर्न केही निजी सिमेन्ट उद्योग सञ्चालकहरु हेटौँडा सिमेन्ट उद्योग बन्द गराउने खेलमा लागेको आरोप लगाउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै सचेतक बर्तौलाले यस्तो बताउनुभएको हो ।

उहाँले हेटौँडा सिमेन्ट उद्योग बन्द भए उद्योगले प्रयोग गर्ने चारवटा खानीहरु कब्जा गर्न सकिने उद्देश्यले निजी सिमेन्ट उद्योगहरु माथिल्लो तहको सेटिङमा लागेको बताउनु भयो ।

उहाँले राजनीतिक स्वार्थमा ठूला निजी उद्योग सञ्चालकहरु माथिल्लो तहमा सेटिङ गरेर मजुवा,भैसे,बोखरे र धादिङको खानी कब्जा गर्ने रणनीति रहेको दाबी गर्नुभयो । उहाँले यो काममा कर्मचारीहरुको पनि संलग्नता रहेको जानकारीमा आएको उल्लेख गर्नुभयो ।

राजनीतिक स्वार्थ राखेर सरकारी उद्योगको विकास हुनसक्ने भन्दै बर्तौलाले मन्त्रीकै पार्टीको व्यक्ति पठाए पनि विज्ञताको आधारमा नियुक्ति गर्न माग गर्नुभयो । उहाँले सिमेन्ट उद्योगमा विज्ञ नेतृत्व नहुँदा सरकारी उद्योगहरु धरासायी र व्यवसायिक योजना विहीन भएको दाबी गर्नुभयो ।

उहाँले सम्बन्धित विषयमा विज्ञ मात्रै उद्योगहरुमा नियुक्त गर्न सरकारसँग माग गर्नुभयो ।

उहाँले हेटौँडा सिमेन्टको महाप्रवन्धक कृषिको विज्ञ भएको बताउनु भयो ।

उहाँले अहिले सरकारी उद्योगहरु बन्द हुने स्थितिमा पुग्नुमा स्वार्थ समूह हाबी हुने गरेको उल्लेख गर्नुभयो ।

उहाँले अहिलेसम्म पनि हेटौँडा सिमेन्ट उद्योगमा साढे दुई लाख बोरा स्टक रहेको भन्दै सरकारले बजारको व्यवस्थापन गर्न नसकेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here