चीनमा शक्तिशाली भूकम्प, १ सय ११ जनाको मृत्यु


३ पुष २०८०, मंगलवार ०८:२३ मा प्रकाशित

एजेन्सी । सोमबार राति चीनको उत्तरपश्चिमी प्रान्त गान्सु र छिङहाइमा भूकम्प गएको छ । चाइना अर्थक्वेक नेटवर्क सेन्टर (सीईएनसी)का अनुसार भूकम्पको तीव्रता ६ दशमलव २ थियो । रिपोर्टका अनुसार भूकम्पको धक्का पाकिस्तानसम्म महसुस गरिएको थियो ।

चीनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाका अनुसार दुवै प्रान्तमा करिब १११ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन् । गान्सुमा १०० र छिमेकी प्रान्त छिङहाइमा ११ जनाको मृत्यु भएको छ ।

भूकम्पको केन्द्रविन्दु छिङहाइको सिमानामा रहेको गान्सुको जिशिशान काउन्टीमा जमिनबाट १० किलोमिटर तल थियो। तर, अमेरिकी भूगर्भ सर्भेले भूकम्पको म्याग्निच्युड ५.९ रहेको जनाएको छ ।

सीसीटीभीका अनुसार भूकम्पका कारण पानी र बिजुलीका तारमा ठूलो क्षति पुगेको छ । साथै यातायात र सञ्चार पनि बिग्रिएको छ । अर्कोतर्फ चिनियाँ राष्ट्रपति सी चिनफिङले भूकम्पपीडितको जीवन र सम्पत्तिको रक्षा गर्न र पीडितका लागि उचित व्यवस्था गर्न उद्धार टोलीलाई सबै खोज तथा उद्धार कार्य गर्न अपिल गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here