सेभ द चिल्ड्रेनले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि ८ सय थान विन्टर टेन्ट उपलब्ध गराउने भएको छ ।
मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपालका लागि इयुका राजदुत भेरोनिक लोरेन्जोले सो टेन्ट भूकम्प पीडितका लागि वितरण गर्न सेभ द चिल्ड्रेनलाई हस्तान्तरण गर्नुभएको हो ।
हस्तान्तरण कार्यक्रममा बोल्दै सेभ द चिल्ड्रेनका राष्ट्रिय निर्देशक हेदर क्याम्पबेलले भूकम्पको मारमा परेका बालबालिका, सुत्केरी, गर्भवती महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरुको जीवन सुरक्षाका लागि अस्थायी आवासस्वरुप सो टेन्ट वितरण गर्न लागेको पनि बताउनु भयो ।
सो टेन्ट राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा प्रभावित क्षेत्रमा पु¥याइने र स्थानीय तहको रोहवरमा वितरण गर्ने व्यवस्था मिलाइएको पनि जानकारी गराइएको छ । टेन्टमा ३ वटा कोठा हुने र त्यसले चिसोबाट बच्नका लागि सुरक्षा प्रदान गर्ने इयुले जनाएको छ ।
टेन्टमा खाना पकाउनका लागि स्टोभको पनि व्यवस्था छ । यस्तै सेभ द चिल्ड्रेनले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रका बालबालिकाको पठनपाठनको निरन्तरताको तीन सय वटा बढी अस्थायी सिकाई केन्द्रको निर्माण गर्ने कार्य अघि बढाएको बताएको छ ।
जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाहरुमा विनाशकारी भूकम्प गए पश्चात बढ्दो चिसोका कारण हालसम्म ३ बालबाललिकासहित ३२ जनाको मृत्यु भइसकेको छ ।