झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई पहिचानवादीहरूले ढुंगा प्रहार गरेका छन् ।
झापाको दमकमा केही कार्यक्रमहरूमा सहभागिता जनाउन आएका कार्की सवार सवारी साधनमा पहिचानवादीहरूले ढुंगा-मुडा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गा रेग्मीले जानकारी दिए ।
दमक नगरपालिकाले सुरु गर्ने लागू औषधसम्बन्धी अभियानको उद्घाटनका लागि मङ्गलबार दिउँसो दमक आउने क्रममा आफूलाई पहिचानवादी बताउने समूहले कालोझण्डा देखाउँदै मुख्यमन्त्री कार्की सवार गाडी रोक्ने प्रयास गरेका थिए ।
सुरक्षाकर्मी सवार दुईवटा गाडीको बीचमा रहेको मुख्यमन्त्री कार्कीको गाडीमाथि ‘गुरिल्ला’ शैलीमा आक्रमण भएको एसपी रेग्मीले बताए ।
उनीहरूको खोजी भइरहेको उनले जानकारी दिए ।
एसपी रेग्मीले भने, ‘मुख्यमन्त्रीज्यू अहिले दमकमै हुनुहुन्छ । उहाँ फर्केलगत्तै हामी आक्रमणकारीहरूलाई तीब्र गतिमा खोजी गर्नेछौं ।’