नेपाललाई पराजित गर्दै त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि यूएईद्वारा कब्जा


१० कार्तिक २०८०, शुक्रबार १५:०८ मा प्रकाशित

काठमाडौं । नेपाललाई पराजित गर्दै त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि यूएईले जितेको छ ।

कीर्तिपुरको त्रिवि मैदानमा शुक्रबार भएको फाइनलमा नेपाललाई चार विकेटले हराउँदै यूएईले सिरिजको उपाधि हात पारेको हो । जितको लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको युएईले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । मुहमद वासिमले ४५ रन बनाएर यूएईलाई राम्रो सुरुवात दिलाएका थिए । अर्का ओपनर आयांश शर्माले २५ र वृत्य अरविन्दले २६ रनको योगदान दिएका थिए । नेपालका गुल्सन झा र अविनाश बोहराले समान २ तथा कुशल मल्लले १ विकेट लिए ।

त्यसअघि यूएईले टस जितेर फिल्डिङ गर्ने निणर्य गरेपछि ब्याटिङमा उत्रिएको नेपालले ८ विकेटको क्षतीमा १ सय ६२ रन बनायो । ओपनर कुशल भुर्तेलले सर्वाधिक ५० रन बनाए । आसिफ शेख ७, कुशल मल्ल १, रोहित पौडेल १८, दिपेन्द्र सिंह ऐरी २०, सन्दीप जोरा ५, गुल्सन झा ५, सोमपाल कामीले १३ रन बनाए । यूएईका आयन खानले ३ तथा अली नासिर र जहुर खानले समान दुई विकेट लिए । जुनेद सिद्धीकीको नाममा एक विकेट रह्यो । नेपाल अपराजित रहदै सिरिजको फाइनल प्रवेश गरेको हो । लिग चरणका दुवै खेलमा यूएईलाई हराएपनि फाइनलमा भने नेपाल पराजित हुन पुग्यो

टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप नेपालले हङकङ र यूएईलाई समावेश गरेर सिरिजको आयोजना गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here