नेपाल त्रिकोणात्मक ट्वान्टी-२० क्रिकेट श्रृंखलाको फाइनलनजिक, हङकङलाई पनि हरायो


२ कार्तिक २०८०, बिहीबार २०:४४ मा प्रकाशित

काठमाडौं । नेपाल बिहीवार हङकङमाथि ६ विकेटको जित निकाल्दै त्रिकोणात्मक ट्वान्टी-२० क्रिकेट श्रृंखलाको फाइनलनजिक पुगेको छ ।

नेपालले हङकङलाई ६ विकेटले स्तब्ध बनाउँदै घरेलु टोली मैदानमा जारी ट्वान्टी-२० श्रृंखलामा लगातार दोस्रो जित निकाल्यो । अघिल्लो दिन संयुक्त अरब इमिरेट्स (युुएई) माथि जित निकालेको नेपालले दोस्रो खेलमा विजयीयात्रा जारी राख्यो । तीन देश सम्मिलित श्रृंखलामा सबै टोलीले एकअर्कासँग समान दुई खेल खेल्नेछन् । कुल चार खेलको समाप्तीमा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् । नेपालले ट्वान्टी-२० विश्वकप छनोटको एसिया क्वालिफायरको तयारी स्वरूप यो श्रृंखला आयोजना गरेको हो ।

श्रृंखलाको पहिलो दुुई खेल जित्दै नेपालले बलियो दाबेदारीसमेत प्रश्तुत गरेको छ । नेपालले बिहीबार मूलपानी क्रिकेट मैदानमा उत्कृृष्ट बलिङ प्रस्तुत गर्दै हङकङलाई १९.१ ओभरमा ९४ रनमा नै समेट्यो । जवाफी ब्याटिङ गरेको नेपालले १३.५ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । नेपालका लागि आरिफ शेखले ३४ बलमा ६ चौकासहित सर्वाधिक ४२ रनको योगदान गरे । कप्तान रोहितकुमार पौडेल २५ र गुल्सन झा १४ रनमा अविजित रहे । हङकङका एहशान खानले नेपालका तीन ब्याटरलाई सस्तैमा आउट गरे पनि घरेलु टोलीले खासै चुनौती सामना गर्नुु परेन ।

यस क्रममा उनले ओपनर कुशल भुर्तेललाई ८ रन, कुशल मल्ललाई १ रन र सन्दीप जोरालाई ३ रनमा पवेलियन फर्काए । तर, अर्का ओपनर आसिफले इनिङ समाल्दै जितनजिक पुर्‍याए । उनी चौथो विकेटका रूपमा यासिम मुर्ताजाद्वारा आउट भएपछि रोहित र गुल्सनले इनिङ समाल्दै सहज जित दिलाए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङ नेपालका तीव्र गतिका बलर करण केसी, सोमपाल कामी र अविनाश बोहोरासामु निरिह बन्यो ।

यी तीनले संयुक्त आठ विकेट लिँदा हङकङ १९.३ ओभरमा ९४ रनमै समेटियो । हङकङका यासिम मुर्ताजा ३६ र जिशन अलीले १७ रन बनाए । त्यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । कुशल मल्ल र श्याम ढकालले समान एक विकेट लिँदै नेपालको बलिङलाई साथ दिए । नेपालको जितमा म्यान अफ दी म्याच भएका करण केसीले यो योजनाअनुरूप बलिङ गर्न सफल भएको र पछिल्लो एक वर्षदेखि नियमित क्रिकेट खेलिरहेकाले राम्रो प्रदर्शन भएको बताए । अब नेपालले तेस्रो खेलमा शनिबार हङकङसँग नै प्रतिष्पर्धा गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here