आगामी निर्वाचनमा गठबन्धन गरेर गए कांग्रेस एक रहन नसक्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाकाे चेतावनी


२ कार्तिक २०८०, बिहीबार १३:२२ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी निर्वाचनमा गठबन्धन गरेर गए कांग्रेस एक रहन नसक्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन काठमाडौंले बिहीबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा थापाले ८४ को निर्वाचनमा गठबन्धन हुन नसक्ने भन्दै यदि कांग्रेस गठबन्धन गरेर गए पार्टी एक नरहने बताउनुभएको हो ।

थापाले निर्वाचनपछि गठबन्धन गर्न सकिने र सरकार चलाउन गठबन्धनमा रहेका मध्ये एकलाई निश्चित समय एक्लै चलाउन दिनुपर्ने धारणा राख्नुभयो । निर्वाचनअघि गठबन्धन गरेर जानु सैद्धान्तिक रुपमा नै गलत भएको उहाले बताउनुभयो ।

गठबन्धनमा रहेपछि संयुक्त निति तथा कार्यक्रमका आधारमा सरकार चल्नुपर्नेमा त्यसो हुन नसकेको जिकिर गर्नुभयो । थापाले गठबन्धनमा रहेकै कारण सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउन विदा दिने कुरा कांग्रेसले स्वीकार गर्न नसक्ने बताउनुभयो ।

त्यस्तै उहाले उहाले कोशी प्रदेशको राजनीतिक परिघटनापछि वाग्मती प्रदेशमा पनि सरकार फेर्नुपर्ने र कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्ने भन्दै सांसदहरु आफुलाई भेट्न आएको बताउनुभयो ।

थापाले अहिलेको अवस्थामा कांग्रेसले आफैतिर फर्केर नेता कार्यकर्ता तथा जनताको असन्तुष्टिलाई सम्बोधन गर्न सच्चिएर जानुपर्ने बताउनुभयो । आगामी महासमिति बैठकको मञ्चलाई कुण्ठा भन्दा पनि पार्टीको कमि कमजोरीलाई सुधार गर्न केन्द्रीत हुनुपर्ने उहाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here