कोशी प्रदेशः सबै दलले सरकारलाई समर्थन दिएपछि राप्रपाद्वारा प्रमुख प्रतिपक्षी दलको दाबी


२ कार्तिक २०८०, बिहीबार २०:५४ मा प्रकाशित

बिराटनगर । कोशी प्रदेशका सवै दलले सरकारलाई विश्वासको मत दिएर समर्थन गरे पछि कोशी प्रदेशमा राप्रपाले प्रमुख प्रतिपक्षी दलको दाबी गरेको छ ।

विहिवार प्रमुख प्रतिपक्षी दलको नेताका लागि राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले कोशी प्रदेश सभामा निवेदन दिनुभएको हो । बुधवार कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मतको निर्वाचनमा राप्रपा बाहेक सबै दलले विश्वासको मत दिएकाले प्रतिपक्षमा मतदान गरेकै कारण आफूहरुले प्रमुख प्रतिपक्षीको भूमिका पाउनुपर्ने राप्रपाको माग रहेको छ ।

नेता सिटौलाले प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ को दफा २ को ङ मा स्पष्ट रुपमा मन्त्रिपरिषद गठन गर्ने वा मन्त्रिपरिषद गठन गर्न समर्थन गर्ने दल बाहेकको बढी सदस्य भएको दलको नेतालाई प्रमुख प्रतिपक्षी दलको नेता बनाउने उल्लेख भएकाले आफूहरुले दाबी गरेको बताउनुभयो ।

मुख्यमन्त्री केदार कार्कीले बुधवार लिएको विश्वासको मतमा नेकपा एमालेका ३९, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकिकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक जना गरी ८६ मत परेको थियो भने विपक्षमा राप्रपाको ५ मत मात्रै परेको थियो ।

प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ अनुसार प्रमुख प्रतिपक्षी दलका नेताले सुविधाको गाडी र सुरक्षा गार्डका साथै प्रमुख सचेतकले पनि सुविधाको गाडी पाउने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here