क्यान्सर लागिहालेमा नआत्तीन चिकित्सकहरुको सुझाव


१९ आश्विन २०८०, शुक्रबार १७:४८ मा प्रकाशित

निराजन निरौला ।

बिर्तामोड । पूर्वाञ्चल क्यान्सर हस्पिटलले क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार झापाको भद्रपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा क्यान्सर कसरी लाग्छ, यसका लक्षणहरु के-के हन् ? विशेषतः क्यान्सर कुन-कुन अंगमा लाग्छ जस्ता विषयमा सचेतना गराइएको थियो ।

क्यान्सर मानवीय त्रुटी र हेल्चेक्राइँका कारण लाग्ने गरेको पूर्वाञ्चल क्यान्सर हस्पिटलका बिभागीय प्रमुख अंको सर्जन डा. बज्रङ्ग प्रसाद शाहले बताउनुभयो । अहिलेसम्मको तथ्याङ्कलाई हेर्दा महिलाहरुमा अधिकतम पाठेघरको क्यान्सर हुने गरेको पाइएको छ भने स्तन क्यान्सर मुखको क्यानसरका बिरामी पनि पछिल्लो समय बढ्न थालेको उहाँले बताउनुभयो ।

त्यसैगरी पुरुषहरुमा घाँटीको क्यान्सर अधिकतम देखा पर्नेगरेको छ । संगसंगै जिब्रो ओठ गाला लगायतका क्यान्सरका बिरामी पनि देखापरेका छन् । तुलनात्मक रुपमा पुरुषभन्दा महिला ज्यादा क्यान्सर पीडित हुने गरेको डा. शाहको भनाइ छ ।

नेपाली समाजमा क्यान्सर भन्ने बित्तिकै ज्यादै खतरा रोग भन्ने मानसिकता रहेको छ । क्यान्सर लागेपछि ज्यानै गइहाल्ने जस्ता भ्रामक सोचाइका कारण आत्मबल घट्ने र बिरामीले धेरै तनाब लिने गरेको डाक्टरहरुको भनाइ छ ।

तर क्यान्सरलाई पहिलो वा दोश्रो चरणमै पत्ता लगाएर उपचार गराउने हो भने पुरै निको हुने डाक्टरहरुले बताएका छन् । क्यान्सर पनि अरु रोग जस्तै सामान्य रोग भएको र समयमा उपचार गराएमा पुरै निको हुनेसमेत उहाँहरुको भनाइ थियो ।

क्यान्सरका बिरामीलाई समाजले हेर्ने दृष्टीकोण फरक हुने, अपहेलित गर्ने जस्ता अमानवीय क्रियाकलापले बिरामीले धेरै दु:ख भोग्नु पर्ने र बिराम लुकाउन बाध्य हुने गरेका छन् । समाजको यस्तो दृष्टीकोण बदल्न क्यान्सरसम्बन्धी सचेतनामूलक कार्यक्रमको जरुरत रहेको कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोख्रेलले बताउनुभयो ।

कार्यक्रममा पूर्वाञ्चल क्यान्सर हस्पिटलमा उपचार गराएर पुरै निको भएका १४ जना बिरामीलाई सम्मान गरिएको थियो । सम्मानित हुने बिरामी १० बर्षदेखि ७० बर्षसम्मका रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here