शिल्पा र छविलाई छलफलका लागि प्रहरीले बोलायो


२६ असार २०७६, बिहीबार १२:३४ मा प्रकाशित

काठमाडौं । निर्माता छविराज ओझालाई महानगरीय प्रहरी परिसर काठमाडौले बोलाएको छ ।

अभिनेत्री शिल्पा पोखरेलले ओझाको विरुद्ध प्रहरीमा दिएको शान्ति सुरक्षा निवेदनको आधारमा छविलाई छलफलका लागि परिसरमा बोलाइएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए । ‘शिल्पाले दिएको शान्ति सुरक्षाको निवेदनको आधारमा दुबैलाई छलफलका लागि हामीले बोलाएका छौ’, बोगटीले भने, ‘दुबैलाई १० बजे बोलाएका हौँ, अहिलेसम्म आएका छैनन् ।’

शिल्पाले शान्ति सुरक्षा निवेदनमा छविसँग डिभोर्स समेत मागेको बाहिर हल्ला छ । तर परिसरका डिएसपी बोगटीले यस विषयमा आफूलाई जानकारी नभएको बताए । प्रहरी परिसरले बोलाएको विषयमा शिल्पाकी भाउजु नाता पर्ने चलचित्र निर्देशक सम्झना रौनियार उप्रेतीले भनिन् ‘छबिजीलाई बोलाएको हो । हामीलाई होइन । ‘झगडा बाहिर मिडियामा ल्याउनु, शिल्पालाई प्रहरीमा जान बाध्य पार्नु सबै छबिको क्रियाकलाप हो’ सम्झनाले आरोप लगाइन् ।

लामो अफयेरपछि शिल्पा र ओझाबीच २०७३ सालको दशैँतामा गोप्य रुपमा बिबाह भएको थियो । अहिले छविले पोखरेललाई आपसी विवादको क्रममा हातपात गर्दा कानको जाली नै फुटेको छ । श्रीमान्ले आफूलाई हातपात गरी कानको जाली नै फुट्न पुगेको भन्दै पोखरेल मंगलबार प्रहरीमा पुगेकी थिइन् ।

शिल्पा हाल चलचित्र निर्माता तथा निर्देशक विकास रौनियारको घरमा बसेकी छन् । शिल्पालाई उनको नम्बरमा फोन गर्दा रौनियार पत्नी तथा निर्देशक सम्झना रौनियार उप्रेतीले उठाउने गरेकी छन् । यस विषयमा ओझाले भने आफूले कुनै हिंसा नगरेको दाबी गरेका छन् । ‘हाम्रो ७३ सालमा बिहे भएको थियो र ६ महिना अघिमात्र बिहे दर्ता भएको थियो’ ओझाले रातोपाटीसँग भने, ‘ सामान्य विवादमा गत असार ८ गतेदेखि घरबाट निस्केर हिँडेकी थिइन् । अहिले उजुरी गरेको कुराले अचम्म लागेको छ ।’

छबिले शिल्पा कसैको निर्देशनमा आफूविरुद्ध लागेको आरोप लगाएका छन् । ‘मेरो चरित्र पूरै चलचित्रकर्मी र चलचित्र उद्योगलाई थाहा छ । कानको जाली फुट्नु त के एक थप्पड समेत हानेको छैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here