वर्तमान सरकार इतिहासकै असफल सरकारः ओली


१६ आश्विन २०८०, मंगलवार १९:३६ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार इतिहासकै असफल सरकार भएको बताउनुभएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले वर्तमान गठबन्धनको सरकार लोकतन्त्र र संविधान कार्यान्वयनका निम्ति गम्भीर संकट भएको र इतिहासकै असफल सरकार भएको बताउनुभएको हो ।

वर्तमान सरकारले आफ्नो स्वार्थका लागि पटक पटक संविधान मिच्ने काम गरेको उहाँले आरोप लगाउनुभयो । ओलीले सरकारले संसदलाई समेत आफ्नो स्वार्थमा चलाउन खोजिरहेको तर्क गर्नुभयो ।

उहाँले संविधान दिवसका अपराधिहरुलाई आममाफी दिएकोप्रति पनि आपत्ती जनाउनुभयो । सरकारले राष्ट्रपतिलाई सेरेमोनियल नभइ खोपीको देउता बनाएको र आदेश पालना गर्ने परिपालक राष्ट्रपति बनाएको धारणा उहाँले राख्नुभयो ।

अध्यक्ष ओलीले सरकारको सुशासन अभियान तस्कर र हत्यारा संरक्षणमा केन्द्रित रहेको जिकिर गर्नुभयो । उहाँले निकै चर्कोसँग खोलिएको ललिता निवासको फाइल बन्द गर्न सरकारलाई पसिना आएको टिप्पणी गर्नुभयो ।

सुन काण्डले पनि सरकारलाई हैरान पारेको भन्दै उहाँले प्रतिपक्षीलाई तर्साउनका लागि बिभिन्न प्रकरण ल्याएको बताउनुभयो । त्यस्तै सम्बोधनका क्रममा ओलीले आफू प्रधानमन्त्री हुँदा शान्ति प्रक्रियालाई टुङ्गो लगाउन खोज्दा माओवादीले नै रोकेको आरोप लगाउनुभयो ।

हिंसा दिवसलाई राष्ट्रिय दिवस मनाउन मन्जुर नरहेको भन्दै उहाँले अगामी मन्त्रिपरिषद्को बैठकले यसलाई फिर्ता लिन माग गर्नुभयो । ओलीले न्यायालयमाथि पनि गठबन्धनले हस्तक्षेप गरेको जिकिर गर्नुभयो । ओलीले जिल्ला न्यायाधीशको परीक्षामा फेल भएका र निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने व्यक्तिलाई न्यायाधीश नियुक्त गरेको भन्दै सरकारबाट आशा गर्न लायक ठाँउ नै नरहेको बताउनुभयो ।

त्यस्तै ओलीले मुलुक अप्ठेरो अवस्थामा रहेका बेला प्रधानमन्त्रीले अनावश्यक रुपमा भ्रमण लम्बाएको बताउनुभयो । सरकारको गलत नीतिका कारण मुलुक अप्ठेरो अवस्थामा पुगेको र बिकास र समृद्धिमा समेत बाधा पुगेको उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here