बिराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसकी एक जना विद्यार्थीको उत्तरपुस्तिका साटफेर गरेको विषयमा विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि विरोध प्रदर्शन गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयले भने असोज १ गतेदेखि विरोध प्रदर्शनमा रोक लगाउँदै निषेधाज्ञा जारी गरिएको सो कार्यालय अगाडि नै विद्यार्थीहरुले टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।
विद्यार्थी र प्रशासनबीच भएको वार्ता वहिष्कार गर्दै विभिन्न संघ संगठनका विद्यार्र्थीहरुले विरोध प्रदर्शन गरेका हुन् । विरोधका क्रममा पटकपटक प्रहरी र विद्यार्थीबीच झडपसमेत भएको छ ।
२०७८ सालमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका एक जना प्राध्यापक राजन दत्तले आफ्नो छोरीलाई पास गराउन अर्की विद्यार्थी सन्ध्या कायस्थको थप कपी साटफेर गरेको घटना सार्वजनिक भएपछि विद्यार्थीहरु आन्दोलित भएका हुन् ।
परिक्षा गार्ड रहेका दत्तले उत्तर पुस्तिकाको थप कपी साटफेर गरेको घटना बारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । फेल भएकी विद्यार्थी सन्ध्यालाई पुनः परिक्षा दिलाउन खोजिएपछि आन्दोलन गरिएको विद्यार्थी नेताहरुले बताएका छन ।
उनीहरुले विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको र यो कदम नसचिएसम्म आन्दोलन गरिरहने बताए । आन्दोलनका क्रममा उनीहरुले परिक्षा नियन्त्रण कार्यालयको गाडीसमेत जलाइदिएका छन् ।