काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउदै करिव तीन अर्ब बिगो माग गर्न सरकारी वकिलको कार्यालयलाई राय दिएको छ ।
सीआइबीले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै झन्डै ६१ किलो सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउदै उनीहरुमाथि विभिन्न सातवटा कसुर लगाउन सिफारिस गरिएको जानकारी दिएको हो ।
भन्सार ऐन, सङ्गठित अपराध, नेपाल राष्ट्र बैंक ऐन, अपराधसंहिता, नेपाल नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार कारबारहीका लागि सिफारिस गर्ने गरी अनुसन्धान प्रतिवेदन तयार पारिएकोे सिआइबीका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो । उहाँले अनुसन्धानका क्रममा अहिलेसम्म गिरोहहरुले विभिन्न सातवटा कम्पनीबाट तीन सय ६२ भन्दा बढी किलो सुन तस्करी गरेको खुलेको पनि जानकारी दिनुभयो ।
अहिलेको मूल्यमा रु तीन अर्ब ५० करोड दुई लाख १६ हजार बराबरको सुन तस्करी भएकाले सो रकमलाई बिगो कायम गरी मुद्दा अघि बढाउन पनि राय दिइएको उहाले बताउनुभयो । उक्त प्रकरणमा अहिलेसम्म ३२ जना पक्राउ परेका छन् । त्यसमध्ये २३ जना नेपाली र नौ जना विदेशी रहेका छन् भने १८ जना फरार रहेको बज्राचार्यले जानकारी दिनुभयो ।
सिआइबीले प्रत्यक्षरुपमा ४२ जनाको टोलीले ३५ दिनसम्म अनुसन्धान गरेको र प्राविधिक पाटोसहितलाई हेरेर अनुसन्धानलाई थप वैज्ञानिक बनाउने काम गरिएको जनाएको छ । तस्करहरुले विभिन्न सातवटा कम्पनीबाट सुन तस्करी भएको र अहिले रेडी ट्रेडका नाममा आएको सुनको मात्रै अनुसन्धान सकिएको बज्राचार्यले बताउनुभयो ।
गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो । विभागले आवश्यक अनुसन्धान सकेर १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई दिएको थियो ।
सिआइबीले बुधबार नै सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा बुझाएको छ ।