हर्क साम्पाङलाई प्रश्न सोधेकै कारण पक्राउ परेका अशोक लिम्बू रिहा


२४ भाद्र २०८०, आईतवार ११:३२ मा प्रकाशित

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कार्य शैलीको विरोध गर्दै उनलाई प्रश्न सोधेको आरोपमा शुक्रबार पक्राउ परेका  धरान-१५  का अशोक लिम्बू रिहा भएका छन् । 

साम्पाङको ठाडो निर्देशनमा नगर प्रहरीले लिम्बुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानलाई बुझाएको थियो । 
 
डेङु रोगको सचेतना कार्यक्रम गरिरहेका मेयर साम्पाङलाई घरै पिच्छे डेङ्गुले बिरामी भएर मरिरहेका छन् तपाईं बाटोमा कार्यक्रम गर्नुहुन्छ भन्दै स्थानीय लिम्बुले प्रश्न सोधेका थिए ।  त्यति भन्ने बित्तिकै साम्पाङले नगर प्रहरी लगाएर पक्राउ गरेको लिम्बुले बताए । 

लिम्बु पक्राउ परेपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र धरानका डिएसपी नवराज मल्लको समेत व्यापक आलोचना भएको थियो । अराजक,असभ्य र अमर्यादित शैलिमा प्रस्तुत भैरहने मेयर साम्पाङको निर्देशनमा निर्दोष व्यक्तिलाई पक्राउ गरिनु सुनसरीका सिडियो पाण्डे र धरानका डिएसपी मल्लको गैरकानुनी काम भएको एमाले धरानका अध्यक्ष हर्कजङ एभेङले बताए ।

धरानका डिएसपी नवराज मल्लले पक्राउ परेका लिम्बूविरुद्ध कसैले उजुरी नदिएको र शुक्रबारको घटना सामान्य रहेकाले धरान-१५ का वडाअध्यक्ष नरेश इवारमलाई जिम्मा लगाएर रिहा गरिएको बताए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here