दार्चुलाको तिङ्करमा सशस्त्र प्रहरीको बीओपी स्थापना


२३ भाद्र २०८०, शनिबार १४:२२ मा प्रकाशित

दार्चुला । दार्चुलाको तिङ्करमा सशस्त्र प्रहरी बलकाे नेपाल बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । शुक्रवार हिजाे दार्चुलाकाे व्याँस गाउँपालिका वडा १ छयाँलेकमा बीओपी स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाले जनाएको छ ।

चीन सीमा नजिक तिङ्करमा बीओपी स्थापना गर्न भारतको बाटो हुँदै प्रहरी नायब महानिरीक्षक वंशीराज दाहाल (एआईजी) को टोली तिङ्कर पुगेको थियो । तिङ्करमा बीओपी स्थापना भएसँगै जिल्लामा बीओपीकाे सङ्ख्या पाँच वटा पुगेको छ । 

 दार्चुलाकाे दुम्लिङ, दत्तु, जोलजीवी सुन्सेरा र लालीमा बीओपीहरु स्थापना भएका छन्।

तिङ्करमा बीओपी स्थापना भएसँगै सीमा क्षेत्रकाे सुरक्षा प्रभावकारी हुने र चोरीतस्करी नियन्त्रण हुने सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेमसिंह धामीले बताउनु भयाे ।

 तिङ्करमा सशस्त्र प्रहरी निरीक्षक इन्स्पेक्टर जनक बहादुर पौडेलको नेतृत्वमा २० जनाको टोली बस्ने भएकाे छ । 

व्यास गाउँपालिकाको वडा नम्बर २ काे माल र मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ६ बाँकुमा रहेको नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा पनि सशस्त्र प्रहरीको पोष्ट राखिएको छ ।

भारतसँग सीमा जोडिएका व्यासको सीतापुल, सुन्सेराको मलघट्टे, खलङ्गाको घाटबजार, दत्तु, जोलजीवी र लालीमा रहेकाे महाकाली नदीको झोलुङ्गे पुलमा पनि सशस्त्र प्रहरीको नियमित सुरक्षा उपस्थिति रहेको ४४ नम्बर गणका गणपति डम्बरबहादुर विष्टले बताउनु भयाे ।

नेपाल–भारत जोड्ने अन्तर्राष्ट्रिय सीमाबिन्दुहरुमध्ये व्यास गाउँपालिकाको वडा नम्बर ५ तिगरम र वडा नम्बर ६ बडुगाउँको झोलुङ्गे पुलबाहेक अन्य सबै ठाउँमा सशस्त्र प्रहरीको उपस्थिति रहेको छ ।

बोर्डर आउट पोष्ट स्थापना गर्न गएकाे टोली शनिवार आज भारतीय बाटो हुँदै जिल्ला सदरमुकाम आउन लागेका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here