बिराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेश सरकारमा जाने विषय आफ्नो पार्टीको प्राथमिकतामै नभएको दाबी गर्नुभएको छ ।
शनिबार मोरङ पुग्नुभएका उहाँले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कोशी प्रदेशको स्थायित्वको लागि ठूला दल एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने बताउनुभएको हो ।
उहाँले कोशीमा एमाले नेतृत्वको सरकारमा जाने विषयमा कुनैपनि छलफल नै नभएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यो विषयमा अहिले कुनैपनि छलफल नै भएको छैन । हामीले त स्थायित्व चाहिएको हो भने सकेसम्म कांग्रेस र एमाले मिलेर सरकार बनाउनु भनेका छौ । हाम्रो त प्रदेश प्राथमिकताको विषय नै होइन ।’
कुनै पनि सरकार आफ्नो प्राथमिकतामा नभएको जिकिर गरेका उहाँले कोशीमा अब एमाले र कांग्रेस मिल्नै नसक्ने अवस्था आयो भने संविधानको रक्षार्थ आफ्नो मत दिने स्पस्ट पार्नुभएको छ ।






