कोशीका मुख्यमन्त्री थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिट मंगलबार पनि हेर्दाहेर्दैमा राखियो


१९ भाद्र २०८०, मंगलवार २०:१५ मा प्रकाशित

बिर्तामोड । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिट मंगलबार पनि हेर्दाहेर्दैमा राखिएको छ । निवेदकको तर्फबाट जवाफी बहस बाँकी रहेकाले सुनुवाइ हेर्दाहर्दैमा राखिएको हो ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले हालेको रिट निवेदन उपर आज विपक्षीका तर्फबाट कानून व्यवसायीहरूले बहस गरेका थिए । विपक्षीका तर्फबाट बहस सकिएपछि निवेदकका तर्फबाट जवाफी बहस हुनेछ । निवेदकका तर्फका कानून व्यवसायीहरुले जवाफी बहस सकेपछि फैसला आउने छ । भोलि बिदा भएका कारण पर्सिमात्रै अब जवाफी बहस हुनेछ ।

सर्वोच्चका न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीको पूर्णइजलासमा सोमबारबाट रिटउपर सुनुवाइ चलिरहेको छ । सोमबार निवेदकका तर्फबाट कानून व्यवसायीहरूले बहस गरेका थिए ।

विपक्षीका तर्फबाट बहस गर्ने कानून व्यवसायीहरूले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत संविधानसम्मत नै रहेको दाबी गरेका छन् ।

विपक्षीको तर्फबाट बहस गर्दै सरकारी वकिल, कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता बुद्धिबहादुर कटुवालसहित विपक्षी कानून व्यवसायीले अध्यक्षता गर्ने इसराइल मन्सुरी सभामुख वा उपसभामुख नभएको तथा उपसभामुखले बैठक नचलाएपछि बाध्यात्मक रूपमा उनले बैठकको अध्यक्षता गरेकाले मत दिन मिल्ने जिकिर गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here