सर्लाही सदरमुकाम मलङ्गवामा १०८ फिट अग्लो राष्ट्रिय झण्डा फहराइयो


१९ भाद्र २०८०, मंगलवार २१:२५ मा प्रकाशित

रबिन घिमिरे । सर्लाही सदरमुकाम मलङ्गवामा १०८ फिट अग्लो राष्ट्रिय झण्डा फहराइएको छ । मधेश प्रदेश सरकारको सहयोगमा मलङ्गवा–सोनवर्षा नाका नजिक जिल्लामै पहिलो पटक १०८ फिट उचाई भएको राष्ट्रिय झण्डा फहराइएको हो ।

प्रदेश सरकारका अर्थमन्त्री सञ्जय कुमार यादवको हातबाट आज झण्डोत्तोलन गरी उद्घाटन गरिएको मलङ्गवा नगरपालिकाले जनाएको छ । मन्त्री यादवले भारतीय नाका नजिक निर्माण गरिएको यो राष्ट्रिय झण्डाले राष्ट्रियतालाई थप मजबुद बनाउने विश्वास व्यक्त गर्नुभयो ।

सीमा नाका भएर आउजाउ गर्ने जो कोहीलाई पनि सीमा नजिकै राष्ट्रिय झण्डा फहराइ रहेको देखेर राष्ट्रप्रतिको माया र प्रेमभाव जागृत हुने उहाँले बताउनुभयो ।

राष्ट्रिय झण्डा निर्माण गरिएको स्थल छेउमै ‘वेलकम टू नेपाल’ लेखिएको डिजिटल बोर्ड, मलंबाबा मजारको दृश्य, नगरको बजार क्षेत्रको दृश्य, जानकी मन्दिरको दृश्यलगायत पनि निर्माण गरिएको छ ।

प्रदेश सरकारले उपलब्ध गराएको ३० लाख रुपैयाँ बजेटबाट १०८ फिटको अग्लो झण्डासहित अन्य संरचना निर्माण गरिएको मलङ्गवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जानकारी दिनुभयो ।

गौतमका अनुसार झण्डा निर्माणस्थलका लागि मलङ्गवा नगरपालिका ४ निवासी खलिल हक अन्सारीले मलङ्गवा नगरपालिका ८ मा रहेको साँढे १३ धुर जग्गा उपलब्ध गराउनुभएको छ ।

प्रमुख प्रशासकीय अधिकृत गौतमको स्वागत तथा सूचना अधिकारी राजकुमार अधिकारीको संचालनमा आयोजित कार्यक्रममा मधेश प्रदेशसभाका सदस्य कौशलकिशोर राय, मेयर नागेन्द्र प्रसाद यादव, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष वीरेन्द्र राय, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष कमलेशप्रसाद साह, नगरपालिकाले नियुक्त गरेको संघसंस्था फोकल पर्सन मुकेश मिश्र, संचारमाध्यमक फोकल पर्सन विश्वनाथ ठाकुरलगायतले मन्तव्य राख्नुभयो । कार्यक्रममा प्रदेश सरकारका अर्थमन्त्री यादवलाई मलंगवा नगरपालिकाले १०८ किलोको मालाले सम्मान समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here