आलोचकहरूको भय नराखी पार्टीका जनपक्षीय गतिविधिलाई समाचार बनाउँः एमाले झापा इन्चार्ज भट्टराई


१९ भाद्र २०८०, मंगलवार २०:०३ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा झापा जिल्ला इन्चार्ज विशाल भट्टराईले सबै किसिमका दर्शक, स्रोता तथा पाठकलाई लक्षित गरि पार्टीका गतिविधिसम्मिलित समाचारका सामाग्री प्रकाशन तथा प्रसारण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

मंगलबार नेपाल एमाले झापाको प्रचार तथा प्रकाशन विभागद्वारा आयोजित प्रचार भेला कार्यक्रमलाई सम्बोधन गर्दै एमाले पोलिटव्युरो सदस्य तथा झापा जिल्ला इन्चार्ज भट्टराईले एमालेका आलोचकहरूले आलोचना गर्ने भय नराखी पार्टीका गतिविधिका विषयलाई समाचार बनाएर जनतामाझ पुर्याउन पार्टीसम्बद्ध प्रेस चौतारीका सदस्यहरूलाई आग्रह गर्नुभएको हो ।

उहाँले विगतमा अन्य पार्टीका नेताहरूले सामाजिक सञ्जालमा एक प्रकारले प्रभुत्व जमाए पनि अहिले आएर त्यो प्रभाव क्रमशः घट्दै गएको बताउनुभयो । तर, पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको सामाजिक सञ्जालमा प्रभाव अझ बढ्दै गएको एमाले नेता भट्टराईको भनाइ थियो । कार्यक्रममा प्रेस चौतारीसम्बद्ध पत्रकारहरूले औंल्याएका सुझाव क्रमशः कार्यान्वयनमा लैजाने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले झापा अध्यक्ष दिपक कार्कीले पार्टीका जनपक्षीय गतिविधि व्यापक भइरहे पनि सञ्चार माध्यममा ती गतिविधि प्रकाशन तथा प्रसारण नभइरहेकाले सञ्चार माध्यममा पार्टीको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रेस चौतारीका प्रदेश इन्चार्ज गणेश पोखरेल, एमाले झापाका उपाध्यक्ष प्रेम गिरी तथा एमाले झापाका सचिव शिव ढुंगेलले सुझाव प्रस्तुत गरेका थिए । प्रचार तथा प्रकाशन विभाग प्रमुख गोपाल काफ्लेले अब सञ्चार माध्यममा पार्टीको गतिविधिको पहुँच पुर्याउन र सूचना प्रणालीलाई व्यवस्थित गर्न कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । उक्त कार्ययोजनामा उपस्थित पत्रकारहरूले सुझाव दिएका थिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here