राहुल महरालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति


१३ भाद्र २०८०, बुधबार २०:०१ मा प्रकाशित

काठमाडौं । जिल्ला अदालत काठमाडौंले राहुल महरालाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरापुत्र राहुललाई विद्युतीय चुरोट (भेप) मा सुन लुकाएर तस्करी गरेको प्रकरणमा ५ दिन हिरासतमा राख्न बुधबार अनुमति दिएको हो ।

संगठित सुन तस्करी मुद्दामा अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुरुमा अदालतबाट पाँच दिनको म्याद पाएको हो ।

यसअघि पक्राउ परेकाविरुद्ध भने प्रहरीले सरकारको नियन्त्रणमा भएको सम्पत्ति चोरी गरेर विश्वास घात गरेको भन्ने आरोपमा मुद्दा चलाएको थियो । पक्राउ परेकाले विमानस्थल भन्सारले बरामद गरेको भेपको सुन लगेको खुलेपछि पक्राउ परेर मुद्दा चलेको थियो ।

२०७९ पुस १० मा दुबईबाट विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन तस्करी गर्ने समूहसँग माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र छोरा राहुलको सम्पर्क देखिएको थियो । सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग उनीहरूको सम्पर्क देखिएको हो ।

सीआईबीले महरा र छोरा राहुललाई सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ किटान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो । अनुसन्धान प्रतिवेदनमा ‘मुख्य योजनाकार’ किटान गरेर बयान समेत नगराएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here