झापा । एसिया कप क्रिकेट सुरु भएको छ ।
उद्घाटन खेलमा अहिल नेपाल र पाकिस्तान मैदानमा रहेका छन् । पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पाकिस्तानले ब्याटिङ रोजेपछि नेपाले बलिङ गरिरहेको छ । नेपाली टोली रोहित पौडेलको कप्तानीमा रहेको छ भने पाकिस्तानी टोली बाबर आजमको कप्तानीमा मैदानमा उत्रिएको छ ।
नेपालले यही खेलमार्फत एसिया कपका डेब्यू गर्दैछ । नेपालले गत बैशाखमा भएको एसिसी प्रिमियर कपको विजेताको हैसियतले एसिया कप खेल्न लागेको हो । नेपाली क्रिकेट टोलीले पहिलो पटक पाकिस्तानसँग खेलेको हो ।
पाकिस्तान हाल आईसीसी एकदिवसीय वरीयताको शीर्ष स्थानमा छ । सन् १९८४ बाट सुरु भएको एसिया कप खेल्ने नेपाल आठौं राष्ट्र हो । यसअघि भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान हङकङ र संयुक्त अरब इमिरेट्स (युएई) ले एसिया कप खेलेका थिए ।
६ टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् भने समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । नेपालले अर्को खेल भदौ १८ गते भारतसँग श्रीलंकाको कान्डीमा खेल्ने छ । प्रतियोगिता भदौ ३१ गतेसम्म चल्नेछ ।