काठमाडौ । ६० किलो सुन तस्करी प्रकरणमा समातिएका एक व्यक्तिको साथमा तीन वटा मुलुकको नागरिकता फेला परेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धानका क्रममा १ भदौमा पक्राउ गरेका चिनियाँ नागरिक याओ पुचेङसँग भारत र नेपालको नागरिकता पनि फेला परेको हो ।
ब्यूरो स्रोतका अनुसार, पक्राउ परेका बेला उनीसँग भारतको आधार कार्ड भेटिएको थियो । उनले हरियानाको गुरुग्रामबाट आधार कार्ड बनाएको फेला परेको थियो ।
हालै उनको काभ्रेबाट जारी भएको नेपाली नागरिकता पनि फेला परेको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए । प्रहरीले उनको नागरिकताको विवरण माग्दै जिल्ला प्रशासन कार्यालय, काभ्रेलाई पत्राचार समेत गरेको थियो । तर, काभ्रे प्रशासनले रेकर्ड फेला नपरेको जवाफ फर्काएको छ ।
अरु थप ३ चिनियाँ नागरिकले पनि लिएको नागरिकताबारे पनि सबै विवरण प्रशासनले उपलब्ध नगराएको स्रोतले बतायो । स्रोतका अनुसार, केही विवरण प्रशासनबाटै गायब छन् । प्रकरणमा हालसम्म चिनियाँ नागरिक सउतेन भनिने डिङ सेग फा, अली र ली समेत भनिने ली वेन टी सुङ, स्टेप्स र रोजर पनि भनिने ली नेङकाई, एलेक्स भनिने याओ पुचेङ, भारतीय नागरिक टासी भनिने थुप्नेत छिरिङ र बेल्जियन नागरिक दावा छिरिङ पक्राउ परेका छन् ।
उनीहरुको अन्तरदेशीय कनेक्सन फेला परेपछि प्रहरीले अनुसन्धानमा इन्टरपोल समेत सहयोग लिँदैछ । ब्यूरोका एसएसपी दिनेश आचार्यलाई हङकङ पठाउने तयारी समेत भइरहेको छ ।