काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल पुनः राजसंस्था पुनःस्थापनाको एजेन्डामा फर्किएको छ ।
पार्टीको केन्द्रीय समिति वैठकले आज यस विषयमा औपचारिक निर्णय लिने तयारी गरेको छ । पार्टी अध्यक्ष कमल थापाले बैठकमा कार्यपत्र प्रस्तुत गर्दै ‘संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र’ राप्रपा नेपालको मुलभूत विचार हुने उल्लेख गर्नुभएको छ ।
गणतन्त्र र धर्मनिरपेक्षता खारेजीका लागि राप्रपा नेपाल बलियो राष्ट्रिय मोर्चा बनाएर सडक आन्दोलनमा जानेसमेत थापाले बताउनुभयो ।
थापाले संघीय गणतन्त्रको नाममा कायम भ्रष्टतन्त्र अन्त्य गर्न सहमत हुने राजनीतिक समूह र दलहरूसँग सहकार्य र एकताको निम्तिसमेत अपील गर्नुभएको छ । थापाको उक्त कार्यपत्र आजको बैठकले पारित गर्नेछ । बैठकपछि दिउँसो २ बजे घोषणासभा राखिएको पार्टी प्रवक्ता राजाराम बर्तौलाले जानकारी दिनुभयो ।
राप्रपा नेपालले धर्मनिरपेक्षता खारेज गरी हिन्दू राज्यको पुनःस्थापना गर्नुपर्ने विषयलाई आफ्नो प्रमुख एजेन्डा बनाउँदै आएको थियो । राजसंस्था पुनःस्थापनको एजेन्डालाई भने परित्याग गरेर गणतन्त्रलाई स्वीकार गर्ने निर्णय पार्टीले लिएको थियो ।
तर, राजसंस्थाको एजेन्डा त्याग्दा गएको चुनावमा निराशाजनक परिणाम प्राप्त भएको विश्लेषण अध्यक्ष थापा नै पार्टीको यो नीतिमा पुनर्विचार गर्ने पक्षमा उभिनु भएको हो ।