काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले देशको राजनीतिमा नेकपा एमालेका अध्यक्ष केपी ओलीको उदयसँगै घृणा र निन्दाको संस्कृति बढ्दै गएको आरोप लगाउनुभएको छ ।
शुक्रबार पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले नेपाली राजनीतिमा ओलीको उद्यसंगै घृणा, निन्दा, खुट्टा तानातान, भर्त्सना र गाली गलौजको परम्परा बढ्दै गएको आरोप लगाउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘राजनीतिमा जतिबेला कमरेड ओलीजीको उदय भयो त्यसपछि राजनीतिमा घृणाको, निन्दाको खुट्टा तानातानको भ्रष्टाचारको गालीगलौजको परम्परा भन्नुहोस् संस्कृति बन्दै गयो । अहिले त ओलीजी भन्दा दश हात पर निन्दा भत्सर्नामा आए । नयाँ पुस्ता आए ।’
अहिले राजनीतिमा आएका नयाँ पपुलिस्टहरु केपी ओलीको मानस पुत्रहरु भएको टिप्पणी गर्दै उहाँले भन्नुभयो, ‘त्यो पपुलिजम ठक्कर खायो त्यसपछि नयाँ पपुलिस्टहरु बजारमा आएका छन् । राजनीतिलाई असाध्यै सस्तो ठानेका छन् तिनीहरुले । तीनका कुरा र हाउभाउ सुन्नुस् । राजनीति मानौं चुड्कीको भरमा गर्ने भनेर सोच्दैछन् । त्यसैले ती ओलीजीका मानस पुत्रहरु हुन् अहिलेका पपुलिजमहरु भन्ने गरेको छु मैले । फन्टुस नयाँ पपुलिस्टहरु आउँदैछन् । ’