बिराटनगर । प्रदेश सभा सञ्चालनका लागि सभाध्यक्षको भूमिका निर्वाह गरेका सांसदको समेत मत लिएर कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनुभएको छ ।
उहाँले सभाध्यक्षको दुरुपयोग गरेर विश्वासको मत लिएको भन्दै प्रतिपक्ष दलले प्रदेश सभामा नाराबाजी गरेको छ ।
उहाँको पक्षमा ४७ मत रहेको थियो भने विपक्षमा ३० मत परेको थियो । ९३ जना सदस्य रहेको प्रदेशसभाको आजको बैठकमा ७७ जनाको उपस्थिति रहेको थियो ।
प्रदेशसभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीले मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले नाराबाजी गरेको छ । उहाँले मतदानको समय सकिएर मत सच्याउने समयमा सभामुखको आसन छाडेर तल आएर मत दिनुभएको थियो ।