एसीसी यू-१९ क्रिकेट: नेपालले जित्यो उपाधि, एसिया कपमा छनोट


२४ असार २०७६, मंगलवार १३:४४ मा प्रकाशित

काठमाडौँ । हङकङविरुद्ध ६ विकेटको जित निकाल्दै एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपालले जितेको छ ।

योसँगै नेपाल आगामी अगस्टमा श्रीलंकामा हुने एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ । एसिया कपमा आयोजक श्रीलंकासहित अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र यूएईको टुंगो लागिसकेको छ ।

हङकङले प्रस्तुत गरेको ९६ रनको चुनौती नेपालले ४ विकेट गुमाउँदै १६.१ ओभरमा भेट्टाएको हो । त्यसका लागि ओपनर रित गौतम र पवन सर्राफले ६.३ ओभरमा ५२ रनको साझेदारी गरे । रित १३ रनमा आउट भएका थिए भने पवन सर्राफले ३६ बलमा ३९ रनको योगदान दिए ।

खड्गबहादुर बोहराले २२ बलमा केबल ८ रन बनाउन सके । त्यसैगरी रोहितकुमार पटेलले १० बलमा १२ रन र भीम सार्कीले ११ बलमा ८ रन बनाए । हङकङका लागि रौनक कपुरले २ विकेट लिए । मोहम्मद हसन खान र मोहम्मद हसन १÷१ विकेट लिन सफल भए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गर्न आएको हङकङले ९५ रनको झिनो लक्षय दिएको थियो । हङकङले ४३.१ ओभरमा सबैविकेट गुमाएर ९५ रन बनाएको थियो । नेपाली युवा लेगस्पिनर सागर ढकालले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो ओभरमै मेडन विकेट लिएका थिए । १० ओभर बलिङ गर्दै १८ रन खर्चिएर उनले ५ विकेट लिए ।

कमलसिंह ऐरीले ८ ओभरमा २ मेडन सहित २३ रन अर्चेर ३ विकेट लिए । तिलकराज भण्डारी र कुशल मल्लको नाममा समान १ विकेट रह्यो । कुशल मल्लले ८.१ ओभरमा ५ मेडन सहित ४ रन मात्रै खर्चे ।

३६ ओभर सकिँदा हङकङले ७० रन बनाउँदै ८ विकेट गुमाएको थियो । अन्तिमा मोहम्मद हसन र अब्बदुर उर्सलने २५ रनको साझेदारी गरेपछि हङकङ ९५ रनमा पुग्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here