काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले पाकिस्तानी राजनीति सुरु गरेको टिप्पणी गर्नुभएको छ ।
शनिबार काठमाडौंमा गुरु लुइटेल अध्ययन तथा बिकास केन्द्र नेपालको साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारले पाकिस्तानी राजनीति सुरु गरेको भन्दै पाकिस्तानी राजनीति र प्रतिशोधको राजनीति नगर्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताउनुभएको हो ।
उहाँले सरकारलाई धेरै नहौसिन र अधिनायकवाद नदेखाउन सुझाव दिनुभयो । कांग्रेस सांसद सुनिल शर्मालाई पक्राउ गर्दै सरकारबिरुद्ध बोल्नेको मुख बन्द गर्न खोजेको र अरुलाई तर्साउन खोजेको उहाँले बताउनुभयो । सुन तस्करीको विरोध गर्दा सुनिल शर्माले स्कुल पढ्दाको कुरा उठाएर गिरफ्तार गर्नु नांगो नाच भएको तर्क गर्नुभयो ।
सांसद शर्मालाई अहिलको अवस्थामा पक्राउ गर्नु सामान्य बिषय नभएको उहाँको भनाइ छ । अध्यक्ष ओलीले सुन प्रकरणमा उच्चस्तरीय छानविन आयोग बनाउन नमानेर सरकारले आफू छानविन गर्छु भन्नु रहस्यमय रहेको बताउनुभयो । उहाँले एमालेले सुन प्रकरणमा उठेर बोल्न खोल्दा सत्तपक्षहरुले होहल्ला गरेर बोल्न नदिएको जिकिर गर्नुभयो ।
त्यस्तै उहाँले कांग्रेस के र कसका लागिपछि लागेको हो भन्ने बुझ्न नसकेको भन्दै देशको नेतृत्व गर्न सक्छु भन्ने आत्मबल नै गुमाईसकेको बताउनुभयो । उहाँले चारवटा मन्त्री लिएर साना पार्टीको पछि लाग्ने रहर कांग्रेसमा देखिएको उल्लेख गर्नुभयो ।