काठमाडौं । एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जित्न नेपाललाई हङकङले ९६ रनको लक्ष्य दिएको छ ।
मलेसियाको किनरारा ओभलमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङ ४३.१ ओभरमा ९५ रनमै अलआउट भयो । हङकङको इनिङ ध्वस्त पार्न नेपालका सागर ढकालले घातक बलिङ गरे । उनले ५ विकेट हात पारे। किफायती बलिङ गरेका उनले १० ओभरमा १८ रन खर्चिए। सागरले ५ ओभर मेडन राखेका थिए ।
यस्तै कमलसिंह ऐरीले ३ विकेट हात पारे । कमलले ८ ओभरमा २ मेडन राख्दा २३ रन दिए । कुशल मल्ल र तिलकराज भण्डारीले १-१ विकेट लिए । कुशलले ८.१ ओभरमा ५ मेडन राख्दा ४ रन मात्र खर्चिएका थिए । हङकङका लागि अदित गोरावाराले सबैभन्दा बढी २४ रन बटुले । उनले ७१ बल खेल्दा ४ चौका प्रहार गरेका थिए ।
कुल्हान मार्क काल्लुले ३८ बल खेलेर २ चौका र १ छक्काको मद्दतमा १९ रनको योगदान दिए। रौनक कपुर १२ रन बनाउदा अन्य ब्याट्सम्यान दोहोरो अंक जोड्न नपाई आउट भए । प्रतियोगिताको च्याम्पियन टिम आगामी अगस्ट अन्तिममा श्रीलंकामा हुने यू-१९ एसिया कपमा छनोट हुनेछ । एसिया कपमा आयोजक श्रीलंकासहित अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, यूएईले खेल्ने पक्का भइसकेको छ ।





