काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले देशको हितलाई ध्यानमा राखेर मात्र विद्युत् आयोजना अघि बढाइने बताएका छन् ।
अहिले मुलुकमा अघि बढाइएका २२ वटा विद्युतीय आयोजनाबाट आगामी तीन वर्षभित्रमा तीन हजार ५०० मेघावाट विद्युत् उत्पादन हुने जानकारी दिँदै अब देशभर नै विद्युत पुर्याइने बताए । राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको जवाफ दिँदै उनले भने, “आगामी तीन वर्षभित्रमा सबै नेपालीको घरमा उज्यालो पु¥याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको छ ।”
साना आयोजनाबाट उत्पादन हुने बिजुली केन्द्रीय प्रशासरणमा जोड्ने र आयोजनालाई लाभ दिने व्यवस्था गरिएको उल्लेख गर्दै उहाँले ऊर्जाको माध्यमबाट उद्योग क्षेत्रको विकासका लागि प्रयास भइरहेको बताए । उनले भने, “देशको आर्थिक विकास र समृद्धिका लागि आगामी वर्ष आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिइएको छ, जनताको लगानीका आयोजना सुरक्षित भएकाले त्यसमा लगानी गरेर देश विकासको अभियानमा सहभागी हुन म सबैलाई आह्वान गर्दछु ।”
मन्त्री पुनले सुनकोशी–कमला–मरिन डाइभर्सनबाट मध्य तराई क्षेत्रको एक लाख २२ हजार हेक्टर क्षेत्रफमा सिँचाइ पुग्ने अनुमान गरेर आयोजना अघि बढाउने निर्णय भएको जानकारी दिए । पछिल्लो अध्ययनले मुलुकमा २३ हजारको सङ्ख्यामा नदी, नाला, खोला र खोल्सा रहेको उल्लेख गर्दै उनले चुरे संरक्षण, नदी नियन्त्रण र तटबन्धका कार्यक्रमलाई पनि सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए । यसअघि नेपालमा छ हजारको सङ्ख्यामा नदीनाला रहेको भनिँदै आएको थियो ।
मन्त्री पुनले भने, “यस वर्ष सङ्घमार्फत परिचालन गर्न तटबन्ध निर्माणका लागि दुई अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन भएको छ, सङ्घ, प्रदेश र स्थानीय तह मिलेर आगामी वर्षमा नदी नियन्त्रणको काममा कुनै कमी हुन दिइने छैन ।”





