केशवकुमार बुढाथोकीलाई पार्टीले कारबाही गर्नुपर्छः उद्धव थापा


४ श्रावण २०८०, बिहीबार १३:४३ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका कोशी प्रदेश सभापति तथा मुख्यमन्त्री उद्धव थापाले नेता केशवकुमार बुढाथोकीलाई कारबाही गर्न माग गर्नुभएको छ ।

काठमाडौंमा जारी केन्द्रीय समिति बैठकमा झापाको पार्टी विवाद छताछुल्ल भएको हो ।

गत निर्वाचनमा कांग्रेसका उम्मेदवार हराउन बुढाथोकीले भूमिका खेलेको थापाले आरोप लगाउनुभयो ।

‘झापा ४ मा कांग्रेसको गठबन्धनको उम्मेदवार हराउने उहाँ हो । देउमान थेबेलाई भोट नदेउ, हराउ भनेर मेसेज गर्नुभएको छ,’ थापाले भन्नुभयो, ‘चुनावको बेला अस्ट्रेलिया जानुभयो । सकिएपछि फर्किनुभयो । पार्टीलाई संकट पर्दा भागेर जाने? यस्ता नेतालाई कारबाही हुनुपर्दछ । भागेर अस्ट्रेलिया गएको रेकर्डेड छ ।’

झापा ४ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेका थेबे झापा जिल्ला सभापति समेत हुनुहुन्छ । थापा र थेबे दुबै नेता कृष्णप्रसाद सिटौला निकट छन् । बुढाथोकी संस्थापन पक्षका हुनुहुन्छ ।

बुधबार केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा जिल्ला सभापति थेबेले आफूखुसी र विधान विपरीत पार्टी सञ्चालन हुने गरेको आरोप लगाउनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here