आयल निगमको कमाइ बढ्यो, ३१ अर्ब बक्यौता तिरेर १८ अर्ब रुपैयाँ नाफा


४ श्रावण २०८०, बिहीबार ०७:०१ मा प्रकाशित

काठमाडौँ । नेपाल आयल निगमले गएको एक आर्थिक वर्षमा ३१ अर्ब बक्यौता र ऋण तिरेर १८ अर्ब रुपैयाँ नाफा कमाएको छ । 

दुई वर्षपछि पेट्रोलियम पदार्थको व्यापार गरेर एक वर्षमा १८ अर्ब रुपैयाँ नाफा कमाएको हो । अघिल्ला दुई वर्षदेखि घाटामा रहेको निगमले आव २०७९/८० मा १८ अर्ब नाफा कमाएको हो ।  

रुस–युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएपछि निगमले भारतबाट महँगो मूल्यमा खरिद गरेर सस्तो मूल्यमा स्थानीय बजारमा बिक्री गर्दा निगम घाटामा गएको थियो ।

तेल खरिद गरेबापतको रकम भुक्तानी गर्न जग्गा धितोमा बैङ्कबाट ऋण लिएको निगम पछिल्लो १० महिनादेखि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गएपछि तेल खरिद गरेको भुक्तानी तिरेर नाफा कमाउन सफल भएको हो । 

निगमका अनुसार आव २०७८/७९ मा ४८ अर्ब ९५ करोड रुपियाँ घाटा रहेको थियो । त्यस्तै आव २०७७/७८ मा ५९ करोड घाटामा थियो । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले पेट्रोलियम पदार्थको कारोबार गरेर एक वर्षमा १८ अर्ब रुपियाँ नाफा कमाउन सफल भएको जानकारी दिनुभयो ।

“रुस–युक्रेन युद्धका कारण महँगोमा इन्धन खरिद गरेर सस्तोमा बिक्री गर्दा दुई वर्षदेखि लगातर निगम घाटामा गएको थियो,” साहले भन्नुभयो, “आव २०७९/८० को भदौ–असोजदेखि अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दै गएकाले इन्डियल आयल कर्पोरेसन  (आइओस) को ३१ अर्ब ऋण तिरेर नाफा कमाउन सफल भएका छौँ ।”

अन्तर्राष्ट्रिय बजारमा लगातार इन्धनको मूल्य घट्दै गएकाले बिक्री मूल्यमा नाफामा राखेर आइओसीको बक्यौता रकम र ऋण तिर्न सफल भएको उहाँले जानकारी दिनुभयो ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here