नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी मंगलबारदेखि सुरु


२ श्रावण २०८०, मंगलवार १९:१८ मा प्रकाशित

काठमाण्डाैँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी मंगलबारदेखि सुरु भएको छ ।

पार्टी कार्यालय सानेपामा बसेको बैठकको पहिलो दिन महामन्त्री विश्वप्रकाश शर्माले बैठकका कार्यसूचीबारे जानकारी गराउनुभएको थियो भने महामन्त्री गगनकुमार थापाले साङ्गठनिकसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सो क्रममा थापाले यस वर्ष साउनदेखि २०८१ असार ३१ गतेसम्म एक वर्षको अवधिलाई ‘घर–घर जाऔँ, पार्टी सदस्य बनाऔँ’ राष्ट्रिय अभियान गरिने प्रस्ताव गर्नुभएको छ । एक वर्षको अवधिमा कम्तिमा पाँचदेखि सात लाख पार्टी सदस्य बनाउने उद्देश्यसाथ अभियान गरिने उहाले बताउनुभयो ।

बैठकमा बैठकमा नेता गोपालमान श्रेष्ठले पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गर्नुभएको छ भने नेता आनन्दप्रसाद ढुङ्गानाले अनुशासन समितिले तयार गरेको कामका बारेमा जानकारी गराउनुुभएको थियो ।

यस्तै बैठकमा प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिकाका विषयमा जानकारी गराउदै प्रमुख सचेतक रमेश लेखकले राजनीतिक रुपले गठबन्धन परिवर्तन भएका कारण प्रमुख प्रतिपक्ष आक्रामक रहेको र रास्वपा तथा राप्रपा अपरिपक्व देखिएको टिप्पणी गर्नुभयो ।

त्यस्तै सरकारमा पार्टीको भूमिकाका बारेमा पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले जानकारी गराउँदै कांग्रेसले सरकारमा बसेर कुनै गल्ती कमजोरी नगरेको बताउनुभयो । उहाले जनताको भावनालाई केन्द्रमा राखेर काम गरिरहेको जिकिर गर्नुभयो ।

केन्द्रीय समिति बैठकलाई कांग्रेसले प्रत्यक्ष प्रसारण पनि गरेको थियो । बैठकलाई प्रविधियुक्त बनाइएको कांग्रेस नेता मीन विश्वकर्माले बताउनुभयो । उहाले कांग्रेसको केन्द्रीय समिति बैठक बुधबार बिहान ११ बजे पुनः बस्ने र एजेण्डाहरुका बारेमा थप छलफल हुने जनकारी दिनुभयो ।

बैठकमा छलफलका लागि विभिन्न १० कार्यसूची तय गरिएका छन् , जसमा पार्टीको राष्ट्रिय अभियान घोषणा, अनुशासन समितिको प्रतिवेदन, समसामयिक राजनीतिक, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णय अनुमोदन लगायत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here