भ्रष्टाचार विरोधी फाइल खोल्ने कामलाई सरकार र सत्ता टिकाउने खेल मात्र बनाउन हुँदैनः रवि लामिछाने


३० असार २०८०, शनिबार १६:२५ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचार विरोधी फाइल खोल्ने कामलाई सरकार र सत्ता टिकाउने खेल मात्र बनाउन नहुने बताउनुभएको छ ।

शनिबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा आयोजित रास्वपाको नगर भेलामा सभापति लामिछानेले सरकारले भ्रष्टाचार विरोधी फाइल खोल्ने काम सुरु गरेको भन्दै फाइल खोल्ने काम सरकार र सत्ता टिकाउने खेल मात्र बन्न नहुने बताउनुभएको हो ।

उहाँले हरेक कालखण्डमा भएका भ्रष्टाचारका मुद्दा सक्न सरकार तयार भए रास्वपाले साथ दिने स्पष्ट पार्नुभयो । रास्वपा अन्य राजनीतिक दलको प्रभावमा नपरेको उल्लेख गर्दै उहाँले जनताको मुद्दामा निःस्वार्थ र निःसर्त रुपमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सभापति लामिछानेले रास्वपाका सांसद तथा नेताका अभिव्यक्तिको गलत व्याख्या नगर्न आग्रह पनि गर्नुभयो ।

त्यस्तै उहाँले पार्टी पङ्क्तिलाई संयमित, शिष्ट र अनुशासित बन्न आह्वान गर्दै आलोचकलाई समेत संयमित र मर्यादित भएर आलोचना गर्न आग्रह गर्नुभयो । उहाँले रास्वपाले निर्वाचनका बेला जनतासंग गरेको बाचा नभुलेको पनि धारणा राख्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here