काठमाडौं । प्रहरी महानिरीक्षक दीपक थापाले सबैको ऐक्यवद्धता भए लागुऔषध दुव्र्यसनी नियन्त्रण गर्न सफल हुने बताउनुभएको छ ।
बिहीवार काठमाडौंमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काठमाडौं उपत्यकामा लागुऔषधको बिगबिगी बढिरहेको बताउनु भयो ।
त्यसलाई मध्यनजर गरी नेपाल प्रहरीले काठमाडौं उपत्यका प्रहरी कार्यालयले काठमाडौं उपत्यकाभर लागुऔषध रोकथाम र नियन्त्रणको अभियानलाई सशक्त ढंगले अघि बढाइरहेको बताउनु भयो । सबै पालिका, सबै तहतप्का र विद्यालय तहमा लागुऔषध विरुद्धको अभियानमा सचेतनामुलक कार्यक्रम लिएर अघि बढिरहेको बताउनु भयो ।
लागुऔषधको डिमाण्ड र सप्लाईलाई नियन्त्रण कसरी गर्ने भनेर योजना बनाइ अघि बढ्न जरुरी रहेको बताउनु भयो । नेपाल प्रहरीले चालु आर्थिक वर्षको जेठ महिनासम्ममा अघिल्लो आ.व.मा भन्दा गाँजा ६५ प्रतिशत, अफिम ७७ प्रतिशत, हिरोइन ७९, अन्य औषधिजन्य लागुपदार्थ ५३ प्रतिशतले बरामद गरेको जानकारी दिनुभयो ।
उहाँले लागुऔषधको न्युनिकरण, रोकथाम र नियन्त्रणको विषय गम्भीर बन्दै गइरहेको बताउनु भयो । लागुऔषधको नियन्त्रण र निवारणमा समयमै सबै एकजुट हुन नसके उत्पादनशील र सिर्जनशील युवा जनशक्ति गुमाउनुपर्ने अवस्था रहेको बताउनु भयो ।