सरकारको ढिलासुस्तीले सर्वसाधारणले पाए सास्ती


१२ असार २०८२, बिहीबार १४:५० मा प्रकाशित


काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीमा पर्ने दुम्कीबासको पुल भाँचिएको ६ महिना पुग्न लाग्दा पनि सरकारले विकल्प प्रस्तुत नगर्दा सवारी चालक र यात्रुहरूले सास्ती खेप्नुपरेको छ । 


गत वर्षको पुस २६ गते पूर्वी नवलपरासीमा रहेकामध्ये सबैभन्दा लामो विनयी खोला पुलको पुन अत्यधिक भारसहितको भारतीय मालवाहक लरीका कारण पुल भाँचिएको थियो । पुल भाँचिएपछि पुलभन्दा उत्तरबाट डाइभर्सन बनाएर यातायात सुचारु गरिएको थियो ।

तर केही हप्तामै भारी वर्षा हुँदा डाइभर्सन बगाएर पूर्व–पश्चिम राजमार्गको यातायात र ढुवानी सेवा अवरुद्ध भएको थियो । पुल सञ्चालनमा नआउँदा सम्मका लागि डाइभर्सनको वैकल्पिक मार्ग प्रयोगमा ल्याइए पनि स्थानीयले मालवाहक ट्रक चल्न नदिएपछि समस्या निम्तिएको हो ।

भैरहवा–काठमाडौं रुटमा ना ५ ख ७४११ नम्बरको ट्रक चलाउँदै आउनुभएका कृष्णबहादुर श्रेष्ठ ४ दिनदेखि बर्दघाटमै हुनुहुन्छ । असार ८ गते भैरहवाबाट पूर्वपश्चिम राजमार्ग हुँदै पश्चिम नवलपरासीको बर्दघाट पुगेका उहाँ ४ देखि सडकमै दिन–रात बिताउन बाध्य हुनुभएको छ ।  दुम्किबासको डाइभर्सन बाढीले बगाएको भन्दै प्रहरीले रोकेपछि उहाँ सडकमै समय बिताइरहनुभएको हो । उहाँले आफूहरूले प्रशासनलाई आग्रह गरे पनि प्रशासनले नसुनेको दुखेसो गर्नुभयो ।  

भैरहवाबाट काठमाडौँ हिँडेका अर्का ट्रक चालक बुद्धिसागर न्यौपाने पनि ४ दिनदेखि बर्दघाटमै रोकिनुभएको छ । ना ६ ख ३२८४ नम्बरको ट्रकका चालक न्यौपानेले सरकारले जनताका पीडा नसुनेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले थोरै गल्ती भए पनि यातायात चालकले टिपाइ खानुपर्ने, भोकै बस्ने भन्दै गुनासो गर्नुभयो । उहाँले  चार दिनसम्म सडकमा रोकिनुपर्दा आफ्ना चालक साथीहरू लामखुट्टेको टोकाइबाट डेंगु सङ्क्रमित भई अस्पताल भर्ना हुनुपरेको समेत बताउनु भयो ।

उहाँहरूजस्तै सयौँ चालकहरू अहिले सडकमै दिनरात कटाइरहनुभएको छ । सयौँ ट्रकहरूलाई सडकमै राखेर उहाँले सास्ती खेप्नुपरेको हो । कतिपय सवारीसाधनहरू बुटवलबाट पाल्पा, स्याङ्जा, पोखरा र मुग्लिङ हुँदै काठमाडौं जान समेत बाध्य भएका छन् ।

पुल भाँचिएको ६ महिना पुग्न लाग्दा पनि निर्माण नहुनु तथा वैकल्पिक सडकको व्यवस्था नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको हो । बुटवल–नारायणगढ खण्डको दुम्कीवासस्थित विनयी खोलाको भाँचिएको पुललाई यहीँ असार भित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here