कोशीका मुख्यमन्त्रीविरुद्धको रिट न्यायाधीश सपना प्रधान मल्लको इजलासमा


२७ असार २०८०, बुधबार ११:५४ मा प्रकाशित

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट निवेदन न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा पेसी तोकिएको छ ।

मुख्यमन्त्री प्रक्रिया असंवैधानिक रहेको दाबी गर्दै सर्वोच्च अदालतमा गत शुक्रबार दर्ता भएको रिट निवेदन चौथो पटक पेसी तोकिएको हो । यद्यपि, आइतबार, सोमबार र मंगलबार पेसी तोकिए पनि यो रिट निवेदनमा सुनुवाइ हुन सकेन ।

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए । नेकपा एमालेका तर्फबाट कोशी प्रदेशमा संसदीय दलका नेतासमेत रहेका कार्कीले नवनिर्वाचित मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र सभामुख बाबुराम गौतमलाई रिट निवेदनमा विपक्षी बनाएका छन् ।

कार्कीले संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन गर्दा सभामुखलाई समेत समावेश गरिनु संविधान विपरीतको कार्य भएको दाबी गरेका छन् ।

असंवैधानिक रूपमा नियुक्त भएका मुख्यमन्त्रीको नियुक्ति बदर गरी धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभामा सबैभन्दा ठुलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्तिका लागि कार्कीले परमादेश माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here