कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेसलाई दिने गठबन्धनको निर्णय, उद्धव थापा मुख्यमन्त्री बन्दै


१८ असार २०८०, सोमबार २०:५९ मा प्रकाशित

विराटनगर । सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसलाई दिने निर्णय गरेको छ ।

सोमबार बालुवाटारमा बसेको बैठकले कांग्रेस कोशी प्रदेश संसदीय दलको नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।

गठबन्धनभित्र सबैभन्दा ठूलो संख्या कांग्रेसको रहेकोले कांग्रेसलाई मुख्यमन्त्री दिने निर्णय भएको बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका कार्यबहाक अध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

सबैभन्दा ठूलो दल काँग्रेस रहेकोले उसको नेतृत्वमा सरकार गठन गर्न प्रदेशलाई सुझाब दिने निर्णय भएको उहाँको भनाइ छ । सरकार गठनको लागि बहुमत जुटाउने जिम्मा पनि काँग्रेसलाई दिएको उहाँले बताउनुभयो ।

गत पुस २४ गते मुख्यमन्त्री बनेका नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ सिट चाहिन्छ ।

राप्रपाले एमालेसँगको गठबन्धन नछोडेको अवस्थामा विपक्षी गठबन्धनको बहुमत पुग्न समस्या छ । नेपाली कांग्रेसको २९, माओवादीको सभामुखसहित १३, नेकपा एसको ४ र जसपाको १ गरी गठबन्धनसँग ४७ सीट रहे पनि एमालेले सभामुखको गणना गर्न नमिल्ने बताउँदै आएको छ ।

नयाँ सरकारलाई लागि गठबन्धनमा पनि सहजै गणित पुग्ने अवस्था छैन । यहाँ गठबन्धनलाई सरकार गठनको लागि राप्रपाको साथ चाहिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here