आइसिसी विश्वकप छनोटः सुपर सिक्स हुँदै विश्वकप खेल्ने नेपालको सम्भावना सकियो


९ असार २०८०, शनिबार १९:४९ मा प्रकाशित

काठमाडौं । आइसिसी विश्वकप छनोट २०२३ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएसँगै सुपर सिक्स हुँदै विश्वकप खेल्ने नेपालको सम्भावना सकिएको छ ।

नेपाल चार मध्य तीन खेलमा हारका साथ समूह ए बाटै बाहिरिएको हो । जितको लागि १ सय ६८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २७.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेदरल्यान्ड्सको जितमा ओपनर म्याक्स ओडाउडले ७५ बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ९० रन बनाए ।

टिमलाई जितको लागि १० रन चाहिँदा गुलशन झाले २७ औं ओभरको पहिलो बलमा बोल्ड आउट गरेपछि ओडिआई करिअरको पहिलो शतक बनाउने अवसर गुमाएका थिए । बास डि लिडे ३९ बलमा ६ चौकासहित ४१ रनमा नट आउट रहे ।

पहिलो विकेटका लागि ओपनर म्याक्स ओडाउड र विक्रमजित सिंहले १३ ओभरमा ८६ रनको साझेदारी गर्दै सानदार सुरुवात दिलाए ।

सन्दीपको बलमा एलबीडब्लू आउट हुनुअघि विक्रमजितले ४३ बलमा ३ चौका र १ छक्कासहित ३० रन बनाए । वेस्ली ब्यारी ३ रनमा दीपेन्द्रबाट आउट भए ।

नेपालका सन्दीप लामिछानेले १० ओभरमा ६० रन खर्चेर २ विकेट लिए । गुलशन झाले ६ ओभरमा २७ रन खर्चेर १ विकेट लिए ।

जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४४.३ ओभरमा १ सय ६७ रनमा अल आउट भएको थियो ।

नेपालका कप्तान रोहित पौडेलले ५५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३३ रन बनाए । सन्दीप लामिछाने ३३ बलमा ४ चौकासहित २७ रन जोडे । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । खेलमा नेपालले सुरुवातदेखिनै खराब प्रदर्शन गर्यो ।

नेपाल समूह ए बाट ४ खेलमा ३ मा हार र १ मा जितसहित चौथो स्थानमा रहेर बाहिरियो । अमेरिका यसअघि नै लगातार तीन खेलमा हारका साथ बाहिरिएको थियो । समूह ए बाट वेस्टइन्डिज, जिम्बावे र नेदरल्यान्ड्स सुपर सिक्समा पुगेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here