नेपाली संकृतिको संरक्षणमा सिक्किमको अग्रसरता, नौमती सँस्कृति धरोहर केन्द्र निर्माण हुने


१० असार २०८०, आईतवार ०७:४८ मा प्रकाशित

झापा । नेपालीहरुको पारम्परिक नौमती संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्न सिक्किम सरकार जुटेको छ । नेपाली बाजाहरुको संरक्षण गर्ने उद्धेश्यले राज्य सरकारले आठ करोड़ २१ लाख रुपैंयाको लागतमा नौमती सांस्कृति धरोहर केन्द्र निर्माण गर्ने भएको छ ।

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले विधिवत शिलान्यास गर्दै विश्वमै पहिलो पटक सिक्किममा नौमती सांस्कृति धरोहर निर्माण हुन लागेको बताउनुभयो । उहाँले भन्नुभयो – यो धरोहर केन्द्र विश्वकै लागि एउटा अनुसन्धान केन्द्र बन्ने छ । यसले नेपालीहरुको बाजाहरुको संरक्षण मात्र नगरी विश्वलाई नै पर्यटकीय गन्तब्य बनाउने छ ।

१.६७ एकर जमीनमा स्थापना हुने यो संस्कृतिक धरोहर केन्द्र आफ्नो प्रकारको विश्वको पहिलो नौमती संरक्षण केन्द्र हुने दावी गरिएको छ ।

आगामी दुई वर्षमा निर्माण कार्य पूरा हुने बताइएको यस नौमती धरोहर सांस्कृति केन्द्र निर्माणको निम्ति सिक्किम सरकारको सांस्कृतिक एवम् धरोहर मामिलाले पहिलो चरणमा आठ करोड २१ लाख रुपैंया बजेट बिनियोजन गरेको बताइएको छ ।

परियोजना अन्तर्गत कूल आठवटा दुई तल्ले भवन निर्माण हुनेछ जसमा मनोरञ्जन तथा व्याख्यान केन्द्र, पाँचवटा लाइभ वर्कशप, रेस्तुराँ, एकसाथ एक सय ५० जना अटाउने बहुदेश्य हल, इण्डोर स्पोर्ट्स कक्ष, यूथ हस्टेल, ओपन एयर थिएटर, कार पार्किङ, पारम्परिक प्रवेश द्वार, रेन वाटर हार्भेस्टिङ ट्याङ्क आदि निर्माण गरिने बताइएको छ ।

तीन दिवसीय गेजिङ जिल्लाको भ्रमणका क्रममा मुख्यमन्त्री पीएस गोलेले पश्चिम सिक्किमको गेजिङ बर्मेक निर्वाचन क्षेत्रको मार्ताममा नौमति सांस्कृतिक तथा धरोहर केन्द्र निर्माण गर्ने बताउनुभएको हो ।

एउटा संग्रहालय सहित पाँचवटा विभिन्न प्रशिक्षण कक्ष रहने धरोहरमा काठ र बाँसबाट वाद्यवादन तयार पार्ने साथै मूर्ति कलाको पनि प्रशिक्षण दिइऩे संस्कृति विभागकी मुख्य अभियान्ता प्रज्ञा सिंहले जानकारी दिनुभयो ।

प्रत्येक जात-जातिको चिनारी, धरोहर तथा विरासतको संरक्षण गर्दै सिक्किमलाई सबैको आकर्षणको केन्द्र बताउन वर्तमान सरकार लागि परेको मुख्यमन्त्री गोलेको भनाई छ । उहाँले सिक्किम कला र संकृतिको पनि धनी भएको उल्लेख गर्नुभयो । अनुसूचित जातिलाई गर्व गर्नसक्ने बनाउन वर्तमान सरकार लागेको मन्त्री गोलेको भनाइ छ ।

उहाँले अनुसूचित जातिलाई वर्तमान सरकारले संरक्षण गर्दै सबै जाती र भाषा तथा कलाको संरक्षणका लागि एसकेएम पार्टी अग्रसर रहेको धारणा ब्यक्त गर्नुभयो । उहाँले अघिल्लो सरकारले २५ वर्षसम्म गर्न नसकेको काम वर्तमान सरकारले चार वर्ष भित्र पुरा गरेको मुख्यमन्त्री गालेको भनाइ छ ।

उहाँले सिक्किमेली नेपालीलाई पटक-पटक लाग्ने गरेको विदेशीको कलङ्कलाई पनि वर्तमान सरकराले सधैंका लागि हटाउने कार्य गरेको ठोकुवा गर्दै यस अघिको सरकारले यसलाई हटाउने कार्य नगरेर केवल राजनीतिक मुद्दा बनाउने काम गरेको आरोप लगाउनुभयो ।

सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले हरेक जातिलाई एक सूत्रमा बाँध्ने कार्य गरेको बताउँदै मुख्यमन्त्री गोले प्रत्येक जातिको कार्यक्रम आयोजन गर्नका लागि राज्य सरकारले आर्थिक सहयोग समेत उपलब्ध गराउने काम गरेको जानकारी दिनुभयो ।

उहाँले प्रत्येक जात-जातिको चिनारी, धरोहर र विरासतको संरक्षण गर्नु नै वर्तमान सरकारको उद्देश्य रहेको उल्लेख गर्नुभयो ।

पूर्व मुख्यमन्त्री पवन चाम्लिङले दार्जीलिङमा गएर सिक्किममा असुरक्षित महसुस भएको भन्दै दिएको अभिब्यक्ति प्रति लक्षित गर्दै मुख्यमन्त्री गोलेले भन्नुभयो- चाम्लिङ रूञ्चे नेता हो । पूर्व मुख्यमन्त्री चाम्लिङले सिक्किमको बदनाम गरेको भन्दै कडा आलोचना गर्नुभयो ।

कार्यक्रममा सांस्कृतिक मामिला विभागका मन्त्री साम्डुप लेप्चाले नेपालीहरुको भाषा र संकृतिको संरक्षण गर्दै विश्वभरका नेपालीका लागि सिक्किम अनुसन्धान केन्द्रको रुपमा विकास गर्न वर्तमान सरकार लागेको बताउनुभयो ।

लोप हुन लागेको लोक संकृतिको संरक्षण गर्न विश्वमै पहिलो पटक सिक्कम अग्रसर भएको क्षेत्र विधायक तथा मन्त्री लोकनाथ शर्माले उल्लेख गर्नुभयो ।

बाजाहरुको राजाको रुपमा रहेको नौमति बाजासहित सम्पूर्ण नेपाली लोक बजाहरुहरुको संरक्ष्ण गरिने शर्माले जानकारी दिनुभयो । कार्यक्रममा नेपालसहित भारतका विभिन्न राज्यबाट सांस्कृति झाँकीहरु प्रस्तुत गरिएको थियो ।

सिक्किम सरकारले नेपाली भाष र संकस्कारको संरक्षणका लागि पहल गरिरहेकाले नेपालसंग पनि साझेदारी गर्न तयार रहेको उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here