पाँचथर । पाँचथरमा बाढी र पहिराका कारण चार स्थानीय तहका एक सय १९ घर परिवार प्रभावित भएका छन् । सुरक्षा निकायले सङ्कलन गरेको तथ्याङ्कअनुसार बाढी पहिराका कारण जिल्लाका एक सय १९ परिवारका पाँच सय ७४ जना नागरिक प्रभावित बनेका हुन् । बाढी र पहिराका कारण १४ घर पूर्णरूपमा विस्थापित भएका छन् ।
पूर्ण विस्थापित हुने जिल्लावासीको सङ्ख्या ५९ छ । यस्तै जिल्लाका ८६ घर बाढी पहिराको उच्च जोखिममा छन् । उच्च जोखिममा परेका ८६ परिवारका चार सय २५ नागरिक पनि विस्थापित बनेका छन् ।
यस्तै बाढी पहिराका कारण १९ घरमा आंशिक क्षति पुगेको छ, जसकारण ९० जना नागरिक प्रभावित बनेको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले जानकारी दिनुभयो । जिल्लामा हाल कूल पाँच सय ७४ नागरिक आफ्नो घरबाट विस्थापित बनेको प्रजिअ मङ्ग्रातीले बताउनुभयो ।
बाढीले यहाँका ६ वटा पक्की पुल बगाएको छ । यस्तै एउटा बेलिब्रिज, आठ वटा झोलुङ्गे पुल र एउटा फलामको ट्रस पनि बाढीले बगाएको छ । पुलमा क्षति भएपछि मेची राजमार्गको फिदिम–ताप्लेजुङ खण्ड, तमोर कोरिडोरको माझीटार–ताप्लेजुङ खण्ड, मध्यपहाडी लोकमार्गको ओयाम–च्याङथापू खण्ड अवरुद्ध भएका छन् । दर्जनौँ ग्रामीण सडकको सवारी आवागमन प्रभावित बनेको प्रजिअ मङ्ग्रातीले जानकारी दिनुभयो ।






